ककनीमा कांग्रेस हार्नुको कारण महत र केसी !
नुवाकोट । नेपाली कांग्रेसले केन्द्रिय नेताहरूको समन्वय र सहकार्य नहुदाको परिणाम नुवाकोटको ककनीमा हार व्यहोर्नुपरेको भन्दै जिल्लाका नेताकार्यकर्ता रुष्ट भएका छन् ।
जिल्लामा पकड भएका फरक-फरक धारका दुई नेताहरु अर्जुननरसिहं केसी र डा.प्रकाशशरण महत बिचको द्वन्द्वले चुनावी कार्यक्रमदेखि निर्वाचन परिणाम सम्म कांग्रेसका लागि सुखद नभएको भन्दै उनीहरुले माओवादीले जित्दै नजित्ने ठाउँमा जितेकोमा आक्रोश पोखे।
केसी र महत यी दुई नेताहरू चुनावी कार्यक्रममा प्रमुख अतिथि बन्ने विषयमा समेत विवाद थियो। जसका कारण नेताकार्यकर्ताले फरक-फरक दिन कार्यक्रम आयोजना गर्नुपरेको थियो। एउटै मन्चमा समेत बस्न नखोज्ने केसी र महतले फरक फरक दिनमा कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए ।
कांग्रेस कार्यक्रम आयोजकहरुले दुई दिन कार्यक्रम गरेर भाषण गर्न समय खर्चे तर त्यसको परिणाम भने निर्वाचनमा देखिएन। पहिले आफैंले जितेको ककनीको वडा कांग्रेसले गुमायो । यो पार्टीको लागि दु:खद घटना भएको उनीहरुको बुझाइ छ।
काठमाडौं बसेर सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको गुटमा बिभाजित केसी र महत कार्यकर्ताको अगाडि बोलीमा एक भएको देखाउन खोज्छन् तर, एकले अर्कोको विरोध गरिरहेको स्पष्ट देखिन्छ। नेताहरुको जुँगाको लडाईलाई ककनीका मतदाताहरुले राम्रैसँग नियालिरहेको अवस्था थियो । जसले गर्दा कांग्रेसलाई घाटा र माओवादीले त्यसैको फाइदा उठाएको देखियो ।
अर्कोतर्फ टिकट वितरणमा देखिएको निराशाजनक अवस्थाका कारण पनि कांग्रेसमा असन्तुष्टि बढेको कार्यकर्ताको बुझाई छ। जसको घरमा पार्टी कार्यालय राखेर कांग्रेस सञ्चालनको जिम्मेवारी दिइएको थियो उनैले टिकट पाएनन् । टिकटको आश्वासनसहित लागेका उनले टिकट नपाएपछि उम्मेदवारी दर्ताका दिन नै पार्टी कार्यालय बन्द गरेर कांग्रेस नेताहरुलाई बाहिरै बस्न बाध्य पारिदिए र आफू रास्वपाका उम्मेदवार बने।
जिल्ला र क्षेत्रमा विकास निमार्णका काम कांग्रेसबाट नै भएको थियो। पटकपटक माओवादी नेताहरु मन्त्री हुँदा पनि खासै काम गर्न नसकेको जनतालाई राम्रोसँग थाहा थियो। तर, कांग्रेस नेताकार्यकर्ताको जुँघाको लडाइँले नै अन्ततःकांग्रेसलाई घाटा पुर्याएको अहिले नुवाकोटमा चर्चा बनेको छ।