सेवारो युवा जमातले देउसी खेलेर ६ लाख ५० हजार उठायो
जेबी चाम्लिङपाँचथर।पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर- ७ स्थित एक सामाजिक संस्थाले देउसी खेलेर संस्थाको भवन बनाउन आर्थिक पहल सुरु गरेको छ।
यहाँको सेवारो युवा जमातले पालिकाको वडा नम्बर ३,७ र ८ मा पुगेर विभिन्न भेष-भूषा सहित देउसी प्रस्तुत गरेको थियो।
सो क्रममा जातजातिका धर्म,संस्कृति र पहिचान जोडिएका नाच र लिम्बू संस्कृतिमा प्रचलित रहेको साकेला,मारुनी,डम्फु लगायत देउसी गित र नाच प्रस्तुत गरेको थियो।
संस्थाका अध्यक्ष रोहित आङ्बो,सचीव पारस आङ्बो लगायत कार्यक्रम संचालक सुनिल आङ्बो रहेको सो देउसी कार्यक्रममा विभिन्न ब्यक्ति र संस्थाको तर्फबाट ६ लाख ५० हजार संकलन भएको थियो।


सोही क्रममा असोज ११/१२ को बाढीले क्षती पुर्याएको वडालाई ३० हजार सहयोग समेत हस्तान्तरण गरियो। वडा अध्यक्ष अमरवीर राईलाई सो रकम हस्तान्तरण गरिएको थियो।
देउसी कार्यक्रम समापन पश्चात् आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरबिक्रम थाम्सुहाङ,सिद्ध मावि प्रधानाध्यापक एवं गाउँपालिका साहित्य प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर लगायतले सेवारो युवा जमातको कामको प्रशंसा गर्दै शुभकामना दिएका थिए।