नेकपा एसका केन्द्रीय सदस्य त्यागेर एमालेबाट गाउँपालिका अध्यक्ष उठ्दै शाही
सुर्खेत । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का एकजना केन्द्रिय सदस्यले उक्त पार्टी त्यागेर एमाले प्रवेशसँगै गाउँपालिका अध्यक्षको चुनाव लड्ने भएका छन् ।
नेकपा एसको कर्णाली प्रदेश अधिवेशन चलिरहेका बेला सो पार्टीका केन्द्रीय सदस्य जंगबहादुर शाही मंगलबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेलले पार्टीमा स्वागत गरेका थिए।
माधवकुमार नेपालसँग समेत राम्रो सम्बन्ध भएका भनिएका नेता शाही मंसिर १६ को उपनिर्वाचनमा दैलेखको महावु गाउँपालिकामा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने स्रोतले बतायो। २०७४ मा सो गाउँपालिका अध्यक्ष शाहीले नै जितेका थिए। नेकपा एमालेबाट तत्कालीन अध्यक्ष भएका शाही पछि नेकपा एसमा लागेका थिए। उनकै कारण २०७९ को चुनावमा कांग्रेसले जितेर एमालेले निर्वाचन हारेको थियो ।
२०७९ मा पनि स्थानीय तह निर्वाचनमा शाही पुनः नेकपा एसबाट अध्यक्ष उम्मेदवार बने तर, जित्न सकेनन् । २,२६८ मत पाएका उनी तेस्रो भएका थिए । एमालेका हरिप्रसाद उपाध्यायले दोस्रो स्थानको मत पाउँदा कांग्रेसका लछुमान गुरुङ झन्डै ३ हजार मत ल्याएर विजयी भएका थिए ।
अध्यक्ष गुरुङको निधनपछि मंसिर १६ मा यहाँ उपचुनाव हुन लागेको र शाहीलाई नै अध्यक्ष बनाउने गरि एमालेले पार्टीमा भित्राएको चर्चा छ। शाहीले पार्टी प्रवेश गर्ने बुझेर एमालेले यहाँको उम्मेदवार टुंगो लगाएको छैन। नेकपा एसमा जानुअघि शाही एमालेको दैलेख जिल्ला कमिटी सचिव थिए।