चितवनमा बस र इभी माइक्रो ठक्कर खाँदा चारजनाको मृत्यु

चितवन, २३ कात्तिक । मुग्लिङ-नारायणगढ सडक अन्तर्गत चितवनको भरतपुर महनगरपालिका-२९ सत्रकिलोमा बस र इलेक्ट्रिक माइक्रो आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रो र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार माइक्रोमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

