प्रचण्डलाई बाबुरामको कटाक्ष: माओवादीको सांसद ३० हाे !

काठमाडौं । नेसपा(नयाँ शक्ति) का संयोजक एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त हुने बताएका छन् ।

बाबुरामले प्रचण्ड नेतृत्वको माओवादीको सांसद संख्या समेत ३२ नभै ३० मात्रै भएको दाबी गरेका छन् । सर्लाही-२ बाट निर्वाचित महेन्द्र राय यादव र समानुपातिक मतबाट निर्वाचित उमरावती नेपाल समाजवादी पार्टीको नै सांसद रहेको तर कानुनी छिद्र प्रयोग गरेर माओवादी बनाइएको उनको तर्क छ। बाबुराम भट्टराई नेतृत्वकै पार्टीबाट सांसद भएका उनीहरुको अहिलेसम्म पार्टीको टुंगो छैन।

उनले माओवादी बारे थप लेखेका छन् -‘माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरी सहित आधुनिक नेपाल राज्य बने यताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसंगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ। त्यसपछि त्यो आन्दोलन (जुन ‘पार्टी’ मात्र थिएन!) लाई हाम्रो प्रस्ताव अनुसार नयाँ युगको नयाँ कार्यभार (जुन तीब्र आर्थिक-सामाजिक रूपान्तरण हुनुपर्दथ्यो, अझै हुनुपर्छ) पूरा गर्न वेलैमा नयाँ समाजवादी आन्दोलन र पार्टीमा रूपान्तरण गर्नुपर्दथ्यो। परन्तु वैचारिक र सांस्कृतिक रूपले स्खलित भैसकेका प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको त्यो आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्ता-स्वार्थको साधनमा परिणत गरेपछि यो दुर्दशा भएको हो।’

अन्त्यमा डा.भट्टराईले लेखेका छन् -‘अनि केही तथ्यांकका कुरा- प्रचण्डको पार्टीको संसदीय सिटसंख्या ३० हो ३२ हैन। २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत कानूनी छिद्रमा टेकेर प्रचण्डले आफ्नो दावी गरेका मात्र हुन्। साथै गोरखा र सर्लाहीका २/२ निर्वाचन क्षेत्रमा प्रचण्डको पार्टीको नाउँमा देखिएको बढी मत नेसपाको उल्लेख्य मत जोडेर मात्र देखिएको हो। त्यो घटाउँदा कति हुन्छ आफैं बुझौं!’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय