रविलाई हुँदैछ गाह्रो र अफ्ट्यारो !

काठमाडौं, ९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने भएको छ। सहकारी प्रकरणमा पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी भएको छ। यो प्रकरण यत्तिमै रोकिने देखिन्न। पक्राउ लगत्तै रास्वपाका नेताकार्यकर्ता र रविका समर्थकले सरकार विरुद्ध नारावाजीसँगै प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली झन् आक्रोशित छन् ।यसले रविलाई अझै गाह्रो र अफ्ट्यारो पार्ने निश्चित छ। उनका समर्थकले पोखरापछी आजदेखी काठमाडौं केन्द्रित आन्दोलन गर्दैछन् ।

शुक्रबार थप ७ दिनको म्याद थपिएसँगै प्रहरीले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान सुरु गरेको छ । सङ्गठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न अदालतबाट थप ७ दिनको म्याद लिइएको प्रहरीले बताएको छ। कास्की पछि उनलाई रुपन्देही समेत लगिनेछ। रवि भन्दा अगाडि पक्राउ परेका पुर्व डिआइजी छवि बन्जाडे जोशीलाई पनि कास्कीबाट रुपन्देही लगेर पुनः कास्की ल्याइएको छ।उनलाई समेत ७ दिनको म्याद थपिएको छ।

रविकै साझेदार भनिएका पूर्वडीआइजी बन्जाडे र अर्कि आरोपी लीला पछाई विरुद्ध पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्ने प्रहरीले तयारी गरेको छ । रवि, छवि र लिला तिनै जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलले अनुमति दिएका छन् ।

यद्यपि रवि लामिछानेको हकमा कास्की प्रहरीले थप २५ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । प्रहरीले आरोपीहरूको सम्पत्तिको स्रोतबारे पनि अनुसन्धान गर्नेछ । यसरी हेर्दा यो मुद्दामा छिट्टै कुनै टुंगोमा पुग्ने देखिन्न। पुर्व गृहमन्त्री समेत रहेका पार्टी सभापति रवि लामिछाने माथी अनुसन्धान गर्दा प्रहरीले आलटाल गरेको र लम्ब्याउने प्रपन्च गरिरहेको रास्वपा नेताहरूको दावी छ।

उता पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेका मुख्य साझेदार भनिएका र हाल फरार रहेका जिबि राईले समेत रविलाई दोषी देखाएर आफ्नो बचाउ गरिरहेको तथ्य बाहिर आएको छ। शुक्रबार जिबि राईको नामबाट एउटा संचार संस्थामा इमेल सन्देश आएको र त्यसमा जिबिले सबै गल्ती रविका कारण भएकोले उन्मुक्ति नदिइयोस र आफुलाई पनि कानुनी उपचार लिन र पीडितलाई न्याय दिन सहज वातावरण बनाइदिने भन्ने लेखिएको छ।यद्यपि त्यो आधिकारिक हो होइन भन्ने अनुसन्धान बाकी छ।

रवि र छवि समेत अन्य केही विरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ । जिबि,रवि र छवि मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी फोरके टेलिभिजन सञ्चालन गरेका थिए । गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । पार्टी खोल्नु अघिसम्म रवि लामिछाने गोर्खा मिडियाका निर्देशक थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय