रवि लामिछानेको हिरासत बसाई लम्बिने संकेत, पहिलो म्याद सकियो

काठमाडौं, ८ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेको हिरासत बसाई लम्बिने देखिएको छ।सहकारी प्रकरणमा पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
गत शुक्रबार पक्राउ परेका लामिछानेलाई ६ दिन हिरासत राख्ने अनुमति पाएको कास्की प्रहरीले आज पुनः म्याद थपको लागि अदालत लैजाने बुझिएको छ। यतिबेला पोखरामा रवि लामिछाने पक्राउको बिरोधमा रास्वपा नेताकार्यकर्ता सडक आन्दोलन गरिरहेका छन् ।आजै सहकारी पीडित संघर्ष समितिले पनि पोखरामा आन्दोलन गर्दैछन ।
लामिछानेको हिरासत बसाई लम्बिने संकेत रास्वपाकै उपसभापति डिपि अर्यालले पनि गरेका छन् ।उनले १२५ घन्टा हिरासतमा राखेर पनि प्रहरीले पार्टी सभापतिसँग ५ घन्टा पनि बयान नलिएको र प्रहरीले अनेक योजना बनाइरहेको बताएका छन् । उनले बिहिवार बिहानै सामाजिक संजालमा लेखेका छन् -‘न्यायपालिकाप्रति आशा छ, भरोसा चाहिं जनताकै हो।’
उपसभापति अर्यालले थप लेखेका छन् -‘कास्की प्रहरीको हिरासतमा रहनुभएका हाम्रो पार्टी सभापति रवि लामिछानेजीसँग भेट्दा उहाँले मलाई यसो भन्नुभयो। उहाँको आँट अदम्य छ। तर सरकार गलाउने दुस्साहस गर्दैछ। सम्मानित न्यायालयका प्रक्रिया र फैसलाहरुप्रति हाम्रो उच्च सम्मान रहन्छ। न्यायालयको गरिमामाथि आँच पुग्ने गरेर हामीले बोलेका छैनौं। तर प्रमाण जुटाउने गृह प्रशासनको नियत ठिक नदेखिएकोले नै भन्दै आएका छौं। धरपकडको शैली प्रतिशोधपूर्ण छ। न त भाग्ने, न प्रमाण नष्ट गर्ने सम्भावना। शुक्रवारदेखि पुरा १२५ घण्टा (६ रात) हिरासतमा राखेर जम्मा पाँच घण्टापनि वयान लिइएको छैन। ‘मगाइएका कागज आइपुगेन’ भन्दै जबर्जस्ती अनुसन्धान लम्ब्याउने रणनीतिमा सरकार छ। राजनीतिक प्रतिशोध साँधिएको हाम्रो दावी पुष्टि भएको छ।’

