नेसपाको केन्द्रीय समितिमा १५१ जना हुने

पोखरा । पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बढीमा १५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।

आज(सोमबार)देखि पोखरामा सुरु भएको प्रथम विधान अधिवेशनमा यही अनुसारको मस्यौदा पेश हुँदै छ। मस्यौदामा लेखिए अनुसार नेसपाको केन्द्रीय समिति १५१ सदस्यीय राख्ने प्रस्ताव गरिएको हो ।

यसैगरी मस्यौदाको धारा ५ को उपधारा १ बमोजिम १३ सदस्यीय पदाधिकारी रहने पनि उल्लेख छ । जसमा एक जना अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक जना महासचिव, पाँच जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ। यो मस्यौदा केहिबेरमा डा.भट्टराईले प्रस्तुत गर्नेछन् ।
यसैगरी नेसपाको सङ्गठनात्मक स्वरूप र संरचना अन्तर्गत पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन रहनेछ । यस्तै सङ्घीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय अनुशासन तथा सदाचार आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय लेखा आयोग र विभागहरू रहनेछ ।

भोलि सम्म चल्ने बिधान अधिवेशनले महाधिवेशनको मिति र स्थान समेत टुंगो लगाउनेछ। २०७२ मा माओवादी पार्टी छाडेर नयाँ बैकल्पिक शक्ति निर्माणमा लागेका भट्टराईले नेसपालाई अन्य बैकल्पिक शक्तिसँग मिलेर जान सकिने तर पुराना पार्टीहरुसँग मिल्न नसकिने पनि भनेका छन् । मुख्यगरी नेकपा माओवादी पार्टीप्रती भट्टराई आक्रामक छन् भने रवि लामिछाने,सिके राउत,रेशम चौधरी,बालेन साह र विवेकशील साझा पार्टी प्रती नरम छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय