रविलाई पोखरा पुर्‍याइयो, भोलि अदालत लगिने


काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई राती २:४५ बजे पोखरा पुर्‍याइएको छ।

सभापति लामिछानेलाई शुक्रवार राति ८ बजे काठमाडौं चमती स्थित रास्वपा मुख्यालयबाट पक्राउ गरिएको थियो। पक्राउ पछि सडकमार्ग हुँदै शनिबार बिहान २:४५ बजे उनलाई पोखरा पुर्‍याइएको हो।उनी हाल प्रहरी हिरासतमा छन् ।

शुक्रबार पक्राउ गरेपनी उनलाई भोलि आइतबार मात्रै अदालत उपस्थित गराइने भएको छ।आज (शनिबार) अदालत बिदा हुने भएकाले आइतबार मात्रै उनलाई म्याद थपका लागि अदालत लगिने भएको हो। उनलाई शुक्रबार बाटै गणना हुनेगरी ५ दिनको म्याद लिएर अनुसन्धान र बयान लिने तयारीमा प्रहरी रहेको छ।

लामिछानेलाई ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि कास्की अदालतले पक्राउ गर्न अनुमति दिएको थियो।अदालतको अनुमतिलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले लामिछानेलाई पक्राउ गरि कास्की लगेको हो।

सूर्यदर्शन सहकारी ठगीको पुरक जाहेरीपछि पूर्वडीआईजी छविलाल जोशीलाई पनि गत असोज ६ गते काठमाडौँको नयाँबानेश्वरबाट पक्राउ गरेर पोखरा लगिएको थियो। जोशी २७ दिनदेखि हिरासतमै छन्। शुक्रबार रविलाई पक्राउ गर्नुअघि उनलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय