स्टन्टबाजी गरेर प्राकृतिक विपद् पीडितलाई अलपत्र नपारौं- डा.भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईले प्राकृतिक विपद् पीडितलाई सरकारले अलपत्र पार्न नहुने बताएका छन् ।

प्राकृतिक विपद् पीडितलाई सरकारले ध्यान नदिएको र प्रधानमन्त्री स्वयं पनि गम्भीर नभएको गुनासो आइरहेका बेला डा.भट्टराईले शुक्रबार सामाजिक सञ्जालमार्फत पीडितका कुरामा ध्यानाकर्षण गराएका हुन्। डा.भट्टराईले लेखेका छन्, ‘छेपारोको आहानझैं प्रत्येकपटक भन्ने एउटा गर्ने अर्को अनि रुने, कराउने, आरोप प्रत्यारोप गर्ने, क्षणिक स्टन्टबाजी गर्ने, विदेशीसँग हात थाप्ने तर प्रभावित नागरिकलाई अलपत्र पार्ने दुष्कर्म नगरौं।’

डा.भट्टराईले अझै अगाडि लेखेका छन्,‘नेपालको विपद् व्यवस्थापन संयन्त्र र क्षमता अत्यन्त कमजोर छ भन्ने कुरा गत दशकयता मात्रै आइपरेका विनाशकारी भूकम्प, कोभिड, बाढीपहिरो, हवाई/सडक दुर्घटनाको बेला छताछुल्ल भइसकेका छन्!’

डा.भट्टराईले देशको अति विविधतायुक्त भूगोल, हावापानी, मनपरी प्राकृतिक सम्पदाको दोहन, निर्माण कार्य र सहरीकरण, तीव्र गतिको पर्यावरण विनाश आदिले आगामी दिनमा प्राकृतिक विपत्ति अरू थपिने निश्चित भएको बताएका छन्।

त्यसैगरी, डा.भट्टराईले अहिलेको गृह मन्त्रालयअन्तर्गत रहेको कमजोर र बेवारिसे विपद् व्यवस्थापन संयन्त्रलाई राज्यको प्रमुख कार्यकारीअन्तर्गत बलियो,अधिकारसम्पन्न, साधनश्रोतयुक्त, स्वायत्त,स्वचालित संयन्त्रमा रूपान्तरण गरेर संघ, प्रदेश र स्थानीय तहसम्म व्यवस्थित गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले विपत्ति आउने बित्तिकै तत्काल उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण स्वचालित ढंगले अघि बढ्ने संस्था र संस्कारको विकास गर्नुपर्नेमा समेत जोड दिएका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय