चार प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्न सक्ने
काठमाडौं, २९ भदौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभावसँगै बङ्गालको खाडीको उत्तरपूर्व तर्फ रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ भने हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यसैगरि राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।