भाटभटेनीको २८औं शाखा तालचोकमा, सात तला अग्लो, ५ सयलाई रोजगारी

काठमाडौं ।बहुचर्चित व्यावसायिक कम्पनी ‘भाट-भटेनी’ सुपर स्टोरले पोखराको तालचोकमा आफ्नो २८औं स्टोर स्थापना गर्ने भएको छ ।
पोखराको न्युरोडमा भाटभटेनीको स्टोर अहिले पनि सञ्चालनमा छ ।एउटै शहरभित्र दुई स्टोर खुल्न लागेको काठमाडौं उपत्यका पछि यो पहिलो हो।पोखरा महानगरपालिका कै तालचोकमा भाटभटेनीको दोस्रो स्टोर स्थापना हुन लागेको अध्यक्ष एवं संचालक मीन बहादुर गुरुङले जानकारी दिए। पुर्वदेखी पश्चिम सबै मुख्य शहरमा शाखा रहेको भाटभटेनीको यो २८औं स्टोर हुनेछ ।
भाटभटेनी ग्रुपका अध्यक्ष मिनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले तालचोकमा निर्माण हुने स्टोरको भूमिपूजा गरेका छन् । आगामी एक वर्षभित्र तयार हुने तालचोकको स्टोरले १२ रोपनी क्षेत्रफल ओगट्ने भाटमटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए ।
उनका अनुसार तालचोकको स्टोर सात तला अग्लो हुनेछ भने यसले सवा २ लाख वर्गफिट क्षेत्रफल ओगट्ने छ । जसमा दुई तला बेसमेन्ट पार्किङ हुनेछ । यो अहिलेसम्मको अग्लो भवन हुनेछ।
भाटभटेनी ग्रुपका अनुसार यो स्टोरले ५ सय जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउने छ । त्यसपछि भाटभटेनी स्टोरमा प्रत्यक्ष रोजगारी पाउनेको संख्या ७ हजार पुग्ने छ । तालचोक स्टोरमा सिनेमा हलदेखि रेस्टुरेन्ट लगायत सुविधा पनि उपलब्ध हुनेछ ।
गुरुङले चार दशकअघि काठमाडौं भाटभटेनी मन्दिर छेउबाट दुइटा कोठा भाडामा लिएर सुरु गरेको ‘भाटभटेनी सुपर स्टोर’ ले खुद्रा व्यापारमा देशव्यापी सञ्जाल बनाएको छ ।

