आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन मनाइँदै
काठमाडौं, २८ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमान कहाँ पुर्याउने गर्छन् ।
यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् र आजको दिनलाई बुबाको मख हेर्ने दिन भनेर पनि मनाइन्छ ।
बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । पितृदेवो भवः भन्ने शास्त्रीय वचनअनुसार आजको दिनमा जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पिताका नाममा तर्पण, श्राद्ध र सिधा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ ।