प्रधानमन्त्री ओलीमाथि फेरि जाइलागे बालेन !
काठमाडौं, १६ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरि पुनः कटाक्ष गरेका छन् ।
उनले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई घरमा नाबालिकालाई काममा राखेर श्रम शोषण गरेको र कुटपिट र हिंसा गरेकोमा सरकारले पक्राउ नगरी बचाउ गरेको आरोप लगाएका छन् ।
‘सांसद शर्माले बिगत ८ वर्ष देखी बन्दी बनाएर एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले बिगत २ महिनादेखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ’-बालेनले फेसबुकमा लेखेका छन् ।
सांसद शर्माको फोटो नै राखेर बालेनले अगाडी भनेका छन्-‘सम्माननिय प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ? कि नसमाउने ?’