ओली-प्रचण्ड सम्बन्ध झन् चिसो !
काठमाडौं, १६ भदौ । सत्ता सहकार्य टुटेदेखि दूरी बढ्न थालेको प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिचको सम्बन्ध अब कहिल्यै नसुध्रने गरि चिसिन थालेको छ।
ओली र प्रचण्डका निकट ब्यक्तिहरुका अनुसार यी दुई नेता एक अर्काको कमजोरी खोतल्न ब्यस्त छन् । उनीहरु एकाअर्कालाई आरोप प्रत्यारोप गर्न मात्रै होइन भेटघाट र छलफलमा सहभागी हुनै नपरे हुन्थ्यो भन्नेमा पुगेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओली माओवादी अध्यक्ष प्रचण्डसँग कुनैपनी अवस्थाको बार्ता,सम्वाद र भेटघाट चाहँदैनन् । त्यस्तै प्रचण्डले पनि ओलीबारे त्यस्तै धारणा बनाएका छन् ।
ओली र प्रचण्डबिचमा मात्रै होइन अहिले एमाले र माओवादीको आरोप प्रत्यारोप संसदमा समेत छरपस्ट छ।आकस्मिक रुपमा कांग्रेससँग सहकार्य गरेर सत्तामा पुगेको एमाले र केन्द्रदेखि प्रदेशसम्म सबै सत्ता गुमाएको माओवादीबिच २०५२ सालमा सुरुभएको सशस्त्र युद्धदेखि सून तस्करी सम्मको बिषयमा आरोपप्रत्यारोप भैरहेको छ।
संसदमा एमाले र माओवादी सांसदहरु दैनिक बाझाबाझ भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक कार्यक्रममा प्रधानमन्त्री ओली प्रति भद्दा टिप्पणी गर्दै आएको कुरा ओलीलाई चित्त बुझेको छैन। प्रचण्डले दुई दिन अघि मात्रै ओलीलाई लक्षित गर्दै बङ्गलादेशमा जस्तै जनताले लखेट्न सक्ने टिप्पणी गरेका थिए। टुँडिखेलमा आयोजित कार्यक्रममा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको बिरोधमा युवाहरुले नारावाजी गरेकोमा प्रचण्डले खुशी मानेर प्रतिक्रिया दिएको ओलीको बुझाइ छ।
त्यसैको जवाफ स्वरुप प्रधानमन्त्री ओलीले पनि आफुले १७ हजार मान्छे मारेर नआएको भन्दै प्रचण्ड लक्षित व्यंग्य गरे। प्रधानमन्त्री ओलीले माओवादी सशस्त्र युद्धको स्मरण गराउदै नेपालमा कुनै पनि किसिमको हिंसा सम्भव नभएको समेत बताए। उनले ‘नेपाल श्रीलंका र बंगलादेशजस्तै हुन सक्ने’ भनेर प्रचण्डले दिएको धम्कीबाट आफू नडराउने पनि बताए ।
‘श्रीलंका र बंगलादेशबाट सिक’ भनेर प्रचण्डले अर्ती उपदेश दिएको भन्दै प्रधानमन्त्री ओलीले एउटा सार्बजनिक कार्यक्रममा भने-‘आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने र नेपाल कुनै देशको फोटोकपी मेसिन होइन, यहाँ आफ्नै इतिहास र परम्परा रहेको छ।’