कांग्रेस-एमालेबीच दरार आएकै हो ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्त्वले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा चस्का पसेको बताएका छन्।
भारत भ्रमणमा रहेकी परराष्ट्र मन्त्री एवं कांग्रेस नेतृ आरजु राणालाई भारतले दिएको सम्मानले एमाले झस्किएको र यसले दुई पार्टी बिचको सत्ता सहकार्यमा समेत दरार आउनसक्ने माओवादी बुझाइ छ। यद्यपि एमालेले यसबारे आफ्नो असन्तुष्टि वा असहमति जनाइसकेको छैन।
तर,आरजु राणालाई भारतले प्रधानमन्त्रीकै स्तरको व्यवहार गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत महत्त्व दिएर भेट गरेको बिषयले भने एमाले झस्किएको देखिन्छ।केहि परराष्ट्र बिज्ञले प्रधानमन्त्रीको हैसियतमा कुनैदिन प्रधानमन्त्री केपी शर्मा ओली भारत जादा कुन स्तरको स्वागत र भेटघाट होला भन्ने तर्क गरेका छन् । भारतका लागि पुर्व राजदुत निलाम्बर आचार्यले त आरजुलाई भारतले बढी महत्त्व दिएको भनिसकेका छन् ।
पुर्व प्रधानमन्त्री प्रचण्डले पनि पार्टी कार्यक्रममा भनेका छन् -‘भारतले परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्री लेभलको जुन व्यवहार गर्यो, त्यो कुराले प्रधानमन्त्री (केपी शर्मा ओली) लाई पनि चस्का परेको जस्तो देखिन्छ।’
परराष्ट्रमन्त्री राणा गत आइतबारदेखि भारत भ्रमणमा छिन्। उनी भोलि (शुक्रबार) भ्रमण सकेर नेपाल फर्कँदैछिन्। आरजुले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस.जयशंकर लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्। त्यसअघि भातीय विदेश सचिव विक्रम मिस्रीले गत साउन २७ गते काठमाडौँ आएर आरजुलाई भ्रमणको निमन्त्रणा दिएका थिए।
उनी स्वदेश फर्किएको केही दिनमै परराष्ट्रमन्त्री देउवाको भ्रमण तय भएको थियो। प्रचण्ड सरकार ढल्नु अगाडि पनि भारतले कांग्रेस नेताहरूसँग बाक्लो भेटघाट गरेको थियो। अहिले पनि परराष्ट्रमन्त्री राणाको भ्रमणलाई उच्च महत्त्व दिनुले एमाले-कांग्रेस सत्ता सहकार्यलाई भारतले छुटाउन खोजेको हो कि भन्ने शंका उब्जिएको छ।