यी ४ दिदिबहिनी : जसले भारतीय राजपरिवारमा नाता जोडे
नेपाली परिवारमा जन्मिएर भारतिय उच्च राजपरिवारमा नाता जोड्ने चार दिदीबहिनीको जीवन कम्ता रोचक छैन ।यी आकर्षक व्यक्तित्वशाली महिलाहरु नाताले एउटै परिवारका दिदीबहिनी हुन्।अझै अचम्म त एउटै परिवारका दिदिबहिनी नै प्रकारान्तरले एक अर्काका सम्धिनी पनि हुन् ।

यी चारै जनाको माइती नेपालको सम्भ्रान्त राणा परिवार हो । बिवाह गरेपछि भने उनीहरु भारतका विभिन्न ठाउँमा पुगे । त्यसपछि उनीहरुले भारतको सामाजिक र राजनीतिक जनजीवनमा आफ्नो विशिष्ट परिचय बनाउन सफल भए ।

भारत सन् १९५१ मा गणतन्त्र हुनुपूर्व त्यहाँ ६ सय वटा राज्य रजौटा थिए । ती राज्य रजौटामध्ये धन सम्पत्ती र विविध दृष्टिकोणले ग्वालियर, कस्मिर, बडोदा र टेहरी गढवालका रजौटालाई सबैभन्दा प्रभावशाली र बलिया रजौटा मानिन्छ । सौभाग्यले यी चार जना नेपाली चेलीहरु ती चारवटा प्रभावशाली राजपरिवार कै बुहारी भएर भित्रीए।
यशोराज्य लक्ष्मी सिंह : यी नेपालका प्रभावशाली राणा प्रधानमन्त्री चन्द्र शमशेरकी पनातीनी, अर्का राणा प्रधानमन्त्री मोहन शमशेरकी नातिनी र २००८ सालको पहिलो कांग्रेस सरकारका शिक्षामन्त्री शारदा शमशेर राणाकी छोरी हुन् । यिनको २००६ सालमा १३ वर्षको उमेरमा कस्मिरको डोगरा राजवंशका राजा डा.कर्ण सिंहसंग विवाह भएको थियो। यशोराज्य लक्ष्मी सिंहका बुवा शारदा शमशेर राणा र राप्रपाका नेता पशुपति शमशेर राणाका बुवा विजय शमशेर राणा साख्खै दाजुभाइ हुन्।
कस्मिरको डोगरा राजवंशका राजा डा.कर्ण सिंहको परिवार राजनीतिमा सबैभन्दा सफल राजवंश मानिन्छ । उनले गणतन्त्रमा पनि कस्मीरको राजाको रुपमा राज्यप्रमुखको दायित्व निभाउन पाएका थिए । सन् १९४७/४८ मा उनका बुवा कस्मिरलाई स्वतन्त्र राख्न चाहने तर यिनी भारतमा विलय गराउन चाहन्थे । २०६३ सालमा तत्कालीन श्री ५ ज्ञानेन्द्रलाई भारतका एजेण्डा स्वीकारेर आनन्दले बस्न फकाउन आउने एक मुख्य पात्र यिनै थिए । यिनका छोरा विक्रमादित्य सिंह पनि कांग्रेसबाट कस्मिर प्रदेश सरकारमा मन्त्री भएका थिए भने अर्का छोरा अजातशत्रु सिंह भाजपामा छन् ।
माधवी राजे सिन्धिया: यिनी नेपालको राणा कालका प्रधानमन्त्री जुद्ध शमशेरकी पनातिनी हुन् । यिनी सूर्य शमशेर राणाकी नातिनी र युवराज शमशेर राणाकी छोरी हुन् । यिनको २०२३ सालमा १८ वर्षको उमेरमा ग्वालिएरका राजा माधव राव सिन्धियासित विवाह भएको थियो । राप्रपाका नेता पशुपति शमशेर राणाले माधव राव सिन्धियाकी दिदी उषा राजे सिन्धियासित बिहे गरेका छन् ।
सिन्धिया परिवारलाई मुगल र अंग्रेजसंग प्रगाढ सम्बन्ध जोडेर आफूलाई सम्पन्न बनाउन सक्षम भएको राजवंश मानिन्छ । यस परिवारका सदस्यहरु दशकौं देखि सांसद र विधायकका चुनाव जित्दै र मन्त्री हुँदै आएका छन् । माधव राव सिन्धियाकी आमा विजया राजे भाजपाकी उपाध्यक्ष थिइन् । माधव राव सिन्धिया उनकी बहिनी वसुन्धरा राजे र यशोदरा राजे सहित छोरा ज्योतिरादित्य पनि भारतीय राजनीतिका सदावहार पात्र मानिन्छन्। यो परिवारमा राजनीतिमा भग नलिने माधवी राजे सिन्धिया मात्रै हुन्। माधवी राजे सिन्धियाको केही दिन अघि निधन भएको छ ।
आशा राजे गायकवाड : यिनी नेपालको राणा कालका प्रधानमन्त्री जुद्ध शमशेरकी पतातिनी हुन् । यिनी श्री ५ त्रिभुवनका भिनाजु सिंह शमशेर राणाकी नातिनी र गर्भे जनरल भनेर चिनिने अर्जुन शमशेर राणाकी छोरी हुन् । यिनको २०२६ सालमा २३ वर्षको उमेरमा बडौदाका राजकुमार संग्राम सिंह गायकवाडसित विवाह भएको थियो।
बडौदाको गायकवाड राजवंश आफ्नो धन सम्पत्ति र वैभवले प्रसिद्ध छ। यस सपरिवारको फिल्म, उद्योग र क्रिकेटमा ठूलो योगदान छ । यस परिवारका धेरै सदस्यहरु बडौदाबाट पटकपटक संसदमा चुनिएर गएका छन् । आशा राजे गायकवाड भारतीय महिला क्रिकेट संघकी अध्यक्ष पनि हुन्।
माला राज्यलक्ष्मी शाह : यिनी पनि राणा प्रधानमन्त्री जुद्ध शमशेरकी पतातिनी, श्री ५ त्रिभुवनका भिनाजु सिंह शमशेर राणाकी नातिनी र अर्जुन शमशेर राणाकी छोरी हुन् । यिनी र आशा राजे गायकवाड साख्खै दिदी बहिनी हुन् । यिनको २०२९ सालमा २२ वर्षको उमेरमा टेहरी गढवालका राजकुमार मनुजेन्द्र शाहसित विवाह भएको थियो।
टेहरी गढवालको राजवंश गोरखाली सेनासित पराजित राजवंश भए पनि नेपालमा वैवाहिक सम्बन्ध कायम हुँदै आएको छ । माला राज्यलक्ष्मी शाहका सुसरा मानवेन्द्र सिंह आठ पटक टेहरी गढवालबाट सांसद चुनिएका थिए। माला राज्यलक्ष्मी शाहले पनि ४ पटक टेहरी गढवालबाट सांसद चुनिएर रेकर्ड बनाएकी छन् ।
कस्मीरका राजा डा.कर्ण सिंह र यशोराज्यलक्ष्मी सिंहका छोरा विक्रमादित्य सिंहले २०४३ सालमा ग्वालिएरका राजा माधव राव सिन्धिया र माधवी राजे सिन्धियाकी छोरी चित्रांगदा राजे सिन्धियासित बिहे गरेका थिए भने माधव राव सिन्धिया र माधवी राजे सिन्धियाका छोरा ज्योतिरादित्य राव सिन्धियाले २०५३ सालमा बडौदाका राजकुमार संग्राम सिंह गायकवाड र आशा राजे गायकवाडकी छोरी प्रियदर्शिनी राजे गायकवाडसित बिहे गरेका थिए । यी दुईटा विवाहले गर्दा यी चारै जना दिदीबहिनीहरु सम्धिनी बन्न पुगिन्।
आशाराजे गायकवाड, माला राज्यलक्ष्मी शाह र माधवी राजे सिन्धियाको नजिकको नाता नेपालका राज परिवारसित पनि पर्छ। आशाराजे गायकवाड र माला राज्यलक्ष्मी शाहका पिता अर्जुन शमशेर राणा श्री ५ त्रिभुवनका भान्जा हुन् । माधवी राजे सिन्धिया तत्कालीन मुमा रत्नकी भतिजी र ऐश्वर्य तथा कोमलकी बहिनी पनि पर्छिन्।