दुई ठाउँमा खसेको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, ३० साउन । मङ्गलबार रातिदेखिको अविरल वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको मलेखु मुग्लिन सडकखण्डकै दुई ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको हो ।
राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग विहान ७ बजेदेखि अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त ठाउँमा एकतर्फी मात्रै अवरुद्ध भएको छ ।
त्यस्तै इच्छाकामना गाउँपालिका-३ को चुम्लिङटारमा ढुङ्गा खसेपछि भने राजमार्ग दुईतर्फी अवरूद्व भएको छ । राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै पूर्व र पश्चिमबाट राजधानी भित्रिन आउने सवारी रोकिएका छन् । मलेखु-काठमाडौं, मुग्लिन-पोखरा र मुग्लिन-नारायणगढ सडक भने यतिबेलासम्म सामान्य नै छन् । यद्यपि वर्षा भइरहेकाले सजग हुन आग्रह गरिएको छ ।

