सुन उपहार राखिएको चलचित्र ‘नम्बरी सुन’ हेर्न दर्शक गएनन्

काठमाडौं, ३० साउन । निर्देशक राजु गिरिको चलचित्र ‘नम्बरी सुन’ हेर्न कोहि दर्शक हलमा आएका छैनन् । त्यसो त यो चलचित्र निर्माण टिमले दर्शकलाई सुन उपहार समेत राखेको छ।

साउन २५ गते शुक्रबारबाट चलचित्र ‘नम्बरी सुन’ प्रदर्शनमा आएको भएपनि हलमा दर्शक नपाउदा निर्माण टिमले घाटा ब्यहोर्ने पक्का भएको  छ। त्यसो त राजु गिरिले निर्देशन गरेको ईश्वर नामको चलचित्र पनि अघिल्लो साता २ दिनमै हलबाट उत्रिएको थियो । इश्वर जस्तै चलचित्र नम्बरी सुनले पनि राम्रो ब्यापार गर्न सकेन । काठमाडौंका मल्टिप्लेक्समा रिलिज भए पनि चलचित्रको बक्सअफिस कलेक्सन शून्य जस्तै छ। एउटा हलमा त चलचित्रको जम्मा ८ वटा मात्रै टिकट बिक्रि भएको तथ्यांक सार्वजनिक भएको छ।

चलचित्र हेर्न दर्शक नआएपछि शो नै स्थगित गर्नुपरेको कतिपय हलले जनाएका छन् । देशकै ठूलो चेन हल क्युएफएक्समा त चलचित्रको ब्यापार सामान्य पनि छैन। रिलिज हुँदाको दिन शुक्रबार केही दर्शक आए पनि शनिबारबाटै शो कम भएको क्यूएफएक्स चेनले जनाएको छ ।

चलचित्र ‘नम्बरी सुन’को निर्माणपक्षले आफ्नो चलचित्र हेर्ने दर्शकलाई सुन उपहार दिने घोषणा धेरै अघि गरेको थियो । त्यसैगरी प्रचारप्रसार गर्दा पनि निकै गुणगान गाइएको थियो । गत असार ३१ गते पत्रकार सम्मेलन गर्दै सिनेमा हेर्ने दर्शकमध्ये १२ जनालाई सुन उपहार दिने बताएको थियो । तर,अहिले उपहारको कुरा सेलाएको छ।

चलचित्रका प्रस्तुतकर्ता नारायण खातीले ‘खल्ती एप’बाट चलचित्रको टिकट काट्ने पाँचजना र त्यसभन्दा बाहिरका सातजनालाई सुनको मोतीवाला ‘चन्द्रहार’ प्रदान गर्ने बताएका थिए ।‘नम्बरी सुन’का निर्देशक गिरीले करिब ७० वर्ष अघि घर-घरमा पुगेर सुनको गहना बनाउनेको कथालाई प्रस्तुत गरेका छन् ।

चलचित्रमा सरोज खनाल, बुद्धि तामाङ, नम्रता सापकोटा, गौरव पहारी, राजाराम पौडेल, सविन बास्तोला, राजेन्द्र खड्गी, नारायण खाती, किरण नेपाली, विनोद न्यौपाने, गीता अधिकारी, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरीको अभिनय छ ।

नारायण खातीको कथा, शिवम् अधिकारीको पटकथा एवम् संवाद लेखन रहेको चलचित्रमा मनोज रिजाल, सविन खाती र सरोज खातीको लगानी छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय