सिमलताल घटनाको एक महिना: त्रिशुलीमा बगेका २ बस र ३८ यात्रु बेखबर
काठमाडौं । चितवनको नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा खसेका दुई वटा बस र ४१ यात्रुको एक महिना सम्म पनि अत्तोपत्तो छैन।
काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्सका दुई वटा यात्रुबस गत असार २८ गते शुक्रवार बिहान चितवनको भरतपुर महानगरपालिका-१ सिमलताल भन्ने स्थानबाट त्रीशुलीमा खसेको थियो।
राती परेको अविरल वर्षा र त्यसबाट खसेको पहिरोसँगै बगेर बस त्रिशूली नदीमा बेपत्ता भएका थिए । सोही ठाउँमा अर्को एउटा बसपनी पहिरोमा परेको थियो । जसको ड्राइभरलाई ढुङ्गाले लागेर ज्यान गएको र ३० यात्रु जोगिएका थिए। हराइरहेका २ वटा बसमा रहेका ६५ जना यात्रु मध्ये ३ जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए।
दुर्घटना लगत्तैदेखि खोजी सुरु गर्दा अहिलेसम्म विभिन्न ठाउँबाट २४ जनाको शव फेला पारिएको छ । घटनाको एक महिना हुँदा पनि दुई वटा बस र अरू यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । खोजी कार्य भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव बताउँछन् । यो बिचमा नेपाली सेना,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीय संगै भारतबाट आएको गोताखोर टिमले समेत खोजी गरेको थियो।
त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट चुम्बक सहित आएको प्राविधिकहरूको टोली चुम्बक नै हराएपछी फर्केको थियो। साउन १३ गते भारतीय टोली फर्केसँगै पहिलो चरणको खोजी कार्य सकिएको घोषणा भएको थियो । नेपाली सुरक्षाकर्मीको टोलीले त्यही दिनदेखि दोस्रो चरणको खोजी जारी राखेको छ ।
सिमलताल दुर्घटनाका विषयमा अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले यही साउन २२ गते मङ्गलवार प्रतिवेदन बुझाएको छ । अध्ययन कार्यदलले नारायणगढ–मुग्लिन सडकभन्दा माथि बनेको ग्रामीण सडकका कारण सिँदुरेगैरामा थुप्रिएको लेदो र ग्रेगान अत्यधिक पानी परेपछि सडकमा बग्दै आएर बस खसालेको निष्कर्ष निकालेको थियो ।
ग्रामीण सडक बनाउँदा भरतपुर महानगरपालिकाले समग्र वातावरणीय पक्षमा ध्यान नदिएको, पहिरोले थुनिएको कल्भर्ट सफा गर्न भरतपुरको डिभिजन सडक कार्यालयले पनि ध्यान नदिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
कार्यदलले खोजी तथा उद्धारलाई समय अनुकूल बनाउन विभिन्न औजार, उपकण र आधुनिक प्रविधि उपलब्ध हुनुपर्ने लगायतका सुझाव दिएको छ । बसमा रहेका र बेपत्ता भनिएका धेरै जसोका परिवारले कुशको शव बनाएर दाहसंस्कार समेत गरिसकेका छन् ।