पोखरामा अन्तर्राष्ट्रिय ‘बेलुन फेस्टिबल’ हुँदै

काठमाडौं । पर्यटकीय राजधानी एवं गण्डकी प्रदेश राजधानी पोखरामा साहसिक खेल अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल हुने भएको छ ।
पोखरालाई अन्तर्राष्ट्रियस्तरमा थप प्रवर्द्धन गर्ने उद्धेश्यले बेलुन नेपाल प्रालिले फेवातालको मुहानको तीन किमी क्षेत्रमा सो फेस्टिबल आयोजना गर्न लागेको हो ।

अङ्ग्रेजी नयाँवर्षका अवसरमा पारेर आगामी पुस १४ देखी १८ गतेसम्म सो फेस्टिबल हुने पोखरामा आयोजित कार्यक्रममा बेलुन नेपाल प्रालिका अध्यक्ष विक्रम बाडेले जानकारी दिए। उनका अनुसार फेस्टिबलका लागि छ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ । फेष्टिभलले पोखराको पर्यटनमा उत्साह थप्दै शिथिल पर्यटन क्षेत्रलाई माथि उठाउन सफल हुने विश्वास लिइएको छ।’पर्यटनको राजधानी पोखरामा साहसिक खेल पर्यटनको प्रवर्द्धन गर्नका लागि कार्यक्रम आयोजना गरेका हौँ’-उनले भने।

आयोजकका अनुसार फेष्टिभलमा विश्वका विभिन्न देशबाट करिब २० देखी २५ वटा बेलुन निर्यात गरी वेलुन फेस्टिभल गरिने छ ।नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा पर्यटन परिषद लगायतका सङ्घ संस्थाको सहयोग र सहकार्यमा फेस्टिबल हुने अध्यक्ष बाडेको भनाई छ।

बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमशृङ्खला लगायतका पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुंगाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्य देखिने छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय