प्रभु बैंकमा ग्राहकको १ करोड १९ लाख गायब !
झापा । बैंकमा पैसा राख्दा सुरक्षीत हुन्छ र ब्याज पनि पाइन्छ ! यो सत्य हो। अझै फिक्स डिपोजिटमा राखेको पैसा त झनै कसैले यताउता गर्नै सक्दैन । तर,झापामा रहेको प्रभु बैंकले भने बचतकर्ताको १ करोड भन्दा बढी रकम गायब पारेको उजुरी परेको छ।
झापाको बिर्तामोड स्थित प्रभु बैंकको शाखामा रकम बचत गर्ने बिर्तामोडका मञ्जुकुमारी नेपालले अहिले आफ्नै बचत रकम खोज्दा भेटेकी छैनन् । बचत गरेको पैसा बैंकमा नै छैन। मन्जुले गत माघ ३ गते प्रभु बैंकको बिर्तामोड शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ६ महिनाका लागि मुद्दती खातामा जम्मा गरेकी थिइन् । मुद्दती खातामा रकम जम्मा गरेको प्रमाण उनिसङ्ग छ। उनी त्यै प्रमाण बोकेर घर फर्किइन। त्यसपछि श्रीमान समेत लिएर छोरा-बुहारी भेट्न अमेरिका पुगिन् ।
करिब तीन महिना अमेरिकामा बिताएर नेपाल फर्किएपछि साउनमा पैसा राखेको ६ महिना भएपछि बैंक गएर निकाल्न खोज्दा मात्रै थाहा भयो १ करोड १० लाख राखेको बैंकमा जम्मा २ लाख मात्रै पैसा भेटियो। त्यसपछि उनीहरुले थाहा पाए बैंकबाट पैसा गायब भैसकेको रहेेेछ।
तत्काल बैंकका कर्मचारीले नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गर्दा पैसा गायब भएको देखिएपछि मन्जु दम्पती अहिले दैनिक पैसाको खोजिमा छन् । बैंकलाई निवेदन दिदा पनि भरपर्दो जवाफ नपाउने र पैसा पनि गायब भएपछि उनीहरुले पत्रकार सम्मेलन गरेर सो बारे जानकारी गराएका छन् ।
बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ । सिटौला बुधबार बिहानदेखि सम्पर्कविहीन छन् । बैंकका कर्मचारीकै मिलेमतोमा सिटौलाले रकम गायब पारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् । नेपालको मात्र होइन, बिर्तामोडका व्यवसायी प्रविण अग्रवालको पनि रकम त्यसरी गायब पारिएको पाइएको छ । अग्रवालले आफ्ना छोराको नाममा खाता खोलेर बचत गरेको रकम बैकले गायब पारेको आरोप उनले पनि लगाएका छन् ।
अग्रवालले पनि २ लाख ६ हजार जम्मा गरेको खातामा २ सय मात्रै रहेको जवाफ बैंकबाट पाएका छन् । बैंकमा रकम छ भनेर ढुक्क भएर नबस्न उनले पनि अरु ग्राहकलाई भनेका छन् ।
बैंकका बिर्तामोड शाखा प्रबन्धक गणेश बरालले घटनापछि बैंकको केन्द्रिय छानविन टोली बिर्तामोड आउँदै गरेको जानकारी दिएका छन् । उनले छानविनपछि यथार्थ थाहा हुने भन्दै बचतकर्ताको रकम हराउन नहुने तर, बैंकका कर्मचारी सिटौलाले बदमासी गरेको हुनसक्ने आशंका गरे ।