माओवादी भित्र प्रचण्डको ‘उथलपुथल’ !

काठमाडौं, १९ साउन । आफू बाँचेसम्म सत्ता केन्द्रित ‘उथलपुथल’ भैरहने अभिव्यक्ति दिएको केही महिनामै सरकारबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी भित्र पनि उथलपुथल हुने संकेत गरेका छन् ।

भर्खरै सम्पन्न पार्टी सचिवालय एवं पदाधिकारी बैठकमा पदाधिकारीका कुण्ठा र निराशा सुनेपछि अध्यक्ष प्रचण्डले पार्टीको आन्तरिक संरचनामा परिवर्तन गर्ने जनाउ दिएको स्रोतको दाबी छ। त्यसका लागी पुनः पार्टीमा अध्यक्ष बाहेक अन्य पदिय संरचना खारेज गर्ने तयारी छ। यो प्रचण्डको पुरानै शैली हो। नेताकार्यकर्ताले गुनासो गर्न वा नेतृत्व प्रती प्रश्न उठाउन थालेपछि प्रचण्ड सच्चिने भन्दा पनि झन् शक्तिशाली बनेर जंगबहादुर शैलीमा प्रस्तुत हुने गर्दछन्।

यसपटक पनि बैठकमा अध्यक्ष प्रचण्डको कार्यशैली बारे विभिन्न प्रश्न उठेका थिए। सरकारमा रहदा सत्ता बाहेक पार्टी,कार्यकर्ता र जनता सबै बिर्सेर उथलपुथल मात्रै गरेको,जनताको समस्यामा ध्यान नदिएको, सहिद बेपत्ता र घाइते एवं तिनका परिवारलाई बेवास्ता गरेको र आफू मात्रै ठिक भन्ने शैलीले काम गरेको भन्दै  उनको आलोचना भएको थियो। राष्ट्रिय सभाको अध्यक्ष भाइलाई बनाएको देखि मन्त्री र अन्य नियुक्तिमा समेत ध्यान नपुर्‍याएको प्रचण्ड माथी आरोप लाग्यो।

पार्टी जनतासँग टाढा भएको र दलाल पुजीवादीको इशारामा चलेको समेत भनेर केही पदाधिकारीले बिरोध गरेपछि प्रचण्ड रिसाएका थिए। पार्टी उपमहासचिव रहेका हरिबोल गजुरेलले त पदाधिकारीको सामुहिक राजीनामाको कुरा समेत उठाएका थिए।पार्टीको बिशेष महाधिवेशन गर्ने भन्दै ३ वर्ष अघिको महाधिवेशनपछि चयन भएका पदाधिकारी सहित केही बिशेष समिति समेत विघटन गर्ने तयारीमा माओवादी अध्यक्ष प्रचण्ड पुगेका छन् । पदाधिकारी बैठकमा उपाध्यक्ष समेत रहेका प्रभावशाली नेता कृष्णबहादुर महरा त उपस्थित समेत भएनन् ।

माओवादी केन्द्रको पार्टी संरचनामा अहिले पदाधिकारी, स्थायी समिति, केन्द्रीय समिति, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मञ्च, आयोग, विभाग र प्रदेश गरी ८ वटा संरचना छन्। ती मध्य धेरै जसो विघटन गर्ने प्रचण्डको तयारी छ। अध्यक्षमा आफू कायम रहने तर अन्य सबै संरचना भत्काउने प्रचण्डको तयारीलाई लिएर कतिपयले पार्टी भित्र अर्को ‘उथलपुथल’ हुन लागेको भनेर व्यंग्य समेत गरेका छन् ।

पार्टी जनताबाट टाढा हुनु र संगठन कमजोर हुनुमा प्रचण्डले कांग्रेस र एमालेसँग मिलेर पटकपटक उथलपुथल गर्नु नै मुख्य कारण भएको नेताकार्यकर्ताको बुझाइ छ।यद्यपि अध्यक्ष प्रचण्ड भने त्यो सबै कुरा स्वीकार गर्ने पक्षमा छैनन् । उनी अझैपनी सत्तामा जान सकिने तर्क गर्छन् भने ०८४ को चुनाव एक्लै लडेर जित्नेमा आशावादी समेत छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय