नेताको मृत्यु र जहाज खस्छ भन्ने पुष्कर किन पक्राउ परे ?

काठमाडौं, १५ साउन । सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता बनेर धेरैको ध्यान खिच्ने झापाका पुष्कर खतिवडा प्रधानमन्त्री केपी शर्मा ओली सहित शिर्ष नेताहरूको फोटो राखेर मृत्युको कामना गर्दा गर्दै पक्राउ परे।

केही युटुबर र आफैंले फेसबुक लाइभ गरेर आफ्नै घरमा अनुष्ठानमा सहभागी हुँदै गर्दा खतिवडा काठमाडौं प्रहरी परिसरबाट खटिएका प्रहरी टोलीको घेराउमा परे। जहाज दुर्घटनादेखि नेता तथा चर्चित व्यक्तिको मृत्यु हुन्छ भन्दै हिड्ने उनलाई आफैं पक्राउ पर्ने कुरा भने कसरी थाहा भएन त ? दुनियाँलाई वेबकुफ बनाउन खप्पिस यी स्वघोषित धर्मगुरुले अहिले प्रहरी हिरासतमा समय बिताइरहेका छन् ।

उनले घरमै गरेको अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले प्रहरीले पक्राउ गरेको भनेको छ। पक्राउ परिसकेपछि पनि पुष्करले प्रहरी नियन्त्रणबाटै सामाजिक सञ्जालमा आफू पक्राउ परेको सूचना दिएका थिए।‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौं देश बनोस्’-पक्राउ लगत्तै उनले लेखेका थिए।

पुष्करले केहि दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको समेत सार्बजनिक गरेका थिए। आफ्नो कामलाई सबैले साथ दिनुपर्ने भन्दै भिडिओ समेत बनाएर पोष्ट गरेका पुष्करले त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएलगत्तै सो भिडिओ सार्वजनिक गरेका हुन् ।

भिडियोमा भनेका थिएः

‘मलाई धेरैले गाली गर्नुहोला । नराम्रो भन्नुहोला । नकारात्मक कमेन्ट गर्नुहोला । तर, मलाई यसले खासै फरक पर्दैन । अब अति नै भइसकेको छ । श्रावणको सोमबार मेरो नित्य साधनाको समयमा, यो देशलाई खाल्डामा हाल्ने नेताहरू जति छन्, उनीहरूको फोटो हारसहित राखेर यमराजको मूर्ति निर्माण गरेर वा फोटो राखेर उनीहरूको मृत्यूको लागि यमराजको पूजा गर्ने निर्णय गरेको छु ।

तपाईंहरू पनि यो पूजामा सहभागी भएर उनीहरूलाई तीलाञ्जली वा तर्पण दिन चाहनुहुन्छ भने यो महान कार्यमा सहभागी भइदिनु होला । गाली गर्नेलाई यो कमेन्ट बक्स खुला छ ।’

पुष्कर खतिवडा को हुन् ?
काठमाडौंको एउटा टेलिभिजनमा धार्मिक कार्यक्रम चलाउने पुष्करको स्थायी ठेगाना झापाको अर्जुनधारा हो। पुष्करले आफूलाई धर्मगुरु र ज्योतिष भनेर चिनाउछन् ।उनको पढाई स्नातक रहेको र बेलाबेला विभिन्न विवादास्पद अभिव्यक्ति दिने तथा भविष्यवाणी गर्ने उनको पेशा हो।चर्चामा आउनकै लागि उनले केही दिन अगाडि साउन र भदौ महिना राम्रो नरहेको र विभिन्न अनिष्ट हुन सक्ने ‘भविष्यवाणी’ गरेका थिए ।

के थियो उनको त्यो भविष्यवाणी ?

‘यदि टाढाको यात्रा प्लेनको यात्रा गर्दै हुनुहुन्छ भने विशेष गरेर साउन र भदौ महिना मंगल र शनिको प्रभावका कारण अत्यन्त खतरा रहेको छ । कुनै ठूला ठूला राजनीतिज्ञ, सेलिब्रिटीको निधनको खबर आउन सक्छन् भने कुनै पनि हवाईसँग सम्वन्धित दुर्घटना वा अत्यधिक कुनै पनि प्रकारका दुर्घटनाको योग बनिरहेको छ । त्यसैले यी दुई महिना अत्यन्तै खराब समय चलिरहकाले लामो यात्रा नगर्नु होला ।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय