वाग्मती सरकारमा पनि दलित निषेध !

काठमाडौं । नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा नेतृत्वको वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

मुख्यमन्त्री लामाले बिहिवार नेपाली कांग्रेसबाट चार जना मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। यद्यपि संघीय सरकारमा जस्तै वाग्मती प्रदेश सरकारमा पनि दलितको सहभागिता ‘शून्य’ छ। मुख्यमन्त्री सहित ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले त महिलालाई समेत निशेध गरेको छ।मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट ६ जना परेका छन् ।

बिहिवार कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा प्रभात तामाङ , आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र संस्कृति पर्यटन तथा सहकारीमन्त्रीमा बिमल ठकुरी नियुक्त भएका हुन् । त्यस्तै बुधबार मुख्यमन्त्रीको सपथको दिन कांग्रेसबाट कुन्दनराज काफ्ले, श्यामबहादुर खड्का, मदुकुमार श्रेष्ठले मन्त्रीको शपथ लिएका थिए । काफ्लेलाई सामाजिक विकास, खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । सुरुकै दिन मन्त्री बनेका धादिङका श्रेष्ठलाई भने अहिलेसम्म कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

त्यस्तै, नेकपा (एमाले) बाट ६ जनाले मन्त्रीको शपथ लिएका थिए । प्रकाश श्रेष्ठ, अमनकुमार मास्के, किरण थापा मगर, कृष्णप्रसाद सिलवाल, प्रेमभक्त महर्जन, र शुकमाया तामाङलाई एमालेले मन्त्री बनाएको थियो । श्रेष्ठले कृषि, मास्केले भौतिक पूर्वाधार, थापा मगरले स्वास्थ्य, सिलवालले वन, महर्जनले श्रम रोजगार र तामाङले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

केन्द्रीय सरकारले दलित, मुस्लिम समुदायलाई मन्त्रिपरिषद्मा निधेष गरेको भनेर आलोचना भइरहेको बेला बागमती सरकारले पनि फेरि त्यही गल्ती दोहोर्याएको छ । बागमतीमा महिलाको प्रतिनिधित्व पनि कमजोर रहेको छ । एमालेले सुकुमायालाई मन्त्री बनाएपनि कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ जना मन्त्रिपरिषद्मा सहभागी हुँदा महिलालाई निषेध गरिएको छ । जबकी कांग्रेसमा हरिप्रभा खड्गी, मसिना खड्कालगायत प्रत्यक्ष निर्वाचित महिला सांसद छन् ।

कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राना देउवाले सार्वजनिक कार्यक्रममा मन्त्रिपरिषदमा महिलाको न्यूनतम् सहभागिता ३३ प्रतिशत हुनैपर्छ भनेर अभिव्यक्ति दिइरहँदा बागमती कांग्रेसले मन्त्रिपरिषद्मा महिलालाई निधेष गरेको छ । यो बिषयले केन्द्रदेखि प्रदेश सम्म अफ्ट्यारो पार्ने देखिन्छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय