सौर्य विमान दुर्घटना : आफन्तले शव बुझ्न मानेनन्
काठमाडौं।काठमाडौं विमानस्थलमा भएको सौर्य एयरलाइन्स दुर्घटनामा परेका मृतकका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेको र सरकारले चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै शव बुझ्न् इन्कार गरेका छन् ।
बुधबार बिहान ११:११ मा काठमाडौंबाट मर्मतका लागि पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको निधन भएको थियो। मृतक सबै एयरलाइन्सकै व्यवस्थापक,कर्मचारी र केही आफन्त थिए। घटनामा बिमान चालक मनिष शाक्य मात्रै बाचेका छन् । उनको अस्पतालमा उपचार भैरहेको छ।
मृतक सबैको शव त्रिभुवन शिक्षण अस्पतालमा रहेको र पोष्टमार्टम पनि सकिएको छ। तर,आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने अडान कायमै राखेका छन् ।हिजो बिहिवार पनि त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उचित क्षतिपूर्ति दिने र शक्तिशाली छानबिन समिति बनाएकोले शव बुझ्न आग्रह गरेका थिए । तर, मृत्तकका आफन्तहरुले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान मन्त्री पाण्डेसामू दोहोर्याए ।
मन्त्री पाण्डेले एयरलाईन्सका व्यवस्थापक र मृत्तकका परिवारसँगै राखेर छलफल गरेका थिए । छलफल निश्कर्षमा नपुगेकोले आज शुक्रबार पुनः छलफल हुने बताईएको छ ।
एयरलाइन्सले मृत्तकका परिवारलाई दिईने रकमबारे स्पष्ट पार्न सकेन । उता, सरकारले पनि छानबिन समितिको प्रतिवेदन कहिलेसम्म सार्वजनिक गर्ने भन्नेबारे यकिन जवाफ दिएन । अस्पताल व्यवस्थापनले भने आजै शव आफन्तलााई बुझाउने तयारी गरेको छ।