सौर्य जहाज दुर्घटना: क्याप्टेन शाक्यको अवस्था स्थिर, कहाँ कहाँ छ चोट ?
काठमाडौं, १० साउन । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्समा सवार १९ जनामध्ये एक मात्रै जिवित क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ अवस्था पनि स्थिर छ । चिकित्सकका अनुसार उनको अनुहारका विभिन्न स्थानमा गहिरो चोट र मेरुदण्डको ‘एल २’ भाग तथा करङका तीन हड्डी भाँचिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान सौर्य एयरलाइन्सको विमान दुर्घटनामा विमान चालक मनीषरत्न शाक्य सहित १९ जना परेका थिए। त्यसमध्ये उनी मात्रै बाँच्न सफल भएका छन् । दुर्घटनामा अन्य १८ जनाको ज्यान जाँदा ‘पाइलट इन कमान्ड’ शाक्य भने भाग्यले बाँचेका थिए। विमान कन्टेनरमा ठोक्किएर आगो लाग्दै गर्दा उनको सकुशल उद्धार गरिएको थियो ।
त्रिभुवन विमानस्थलको धावनमार्ग-०२ बाट पोखराका लागि उडेको उक्त विमान बिहान ११ बजेर ११ मिनेट जाँदा दुर्घटना भएको थियो। त्यसलगत्तै उद्दार टोलीले दमकलबाट पानी हालेर निभाउन प्रयत्न गरेपनी अन्य यात्रु बचेनन् । करिब २ मिनेटमै उद्दार थालिएपनी पाइलट बाहेक अरुलाई बचाउन सकिएन। पाइलट शाक्यलाई उद्दार पछि करिब २० मिनेटमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्याइएको थियो ।
उद्धारकर्मीले डोर्याएर हिंडाउदा पाइलट शाक्य होसमै थिए र बोल्न सक्ने अवस्थामा थिए । उनलाई उद्दार गर्ने प्रहरीलाई पाइलट शाक्यले ‘म ठीक छु, अरूलाई हेर्नु’ भनिरहेका थिए । जुनकुरा उनी अस्पतालमा पनि भन्दै थिए । अस्पताल पुगेका आफन्तलाई चिन्ता नलिन आग्रह गर्दै उनले बेडमा सुतेर हात उठाउदै ‘आइ एम फाइन’ भन्दै अप्रेसन कक्ष छिरेका थिए।
उपचारमा खटिएका चिकित्सकका अनुसार शाक्यको अनुहारका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । उनको सीटी स्क्यान तथा एमआरआईमा मस्तिष्क केही सुन्निएको देखिएको छ भने मेरुदण्डको ‘एल २’ भाग भाँचिएको छ । आठौं, नवौं र दसौं करङ भाँचिएको छ । चिकित्सकले उनलाई सूक्ष्म निगरानीका लागि सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको बताएका छन् ।