अकबरे खुर्सानीमा रमाउँदै संगीता

भोजपुर जिल्लाको भोजपुर नगरपालिका-५ बोखिमकी युवा उद्यमी संगिता श्रेष्ठ अहिले व्यावसायिक अकबरे खुर्सानीमा रमाउदै छिन् । देशमै केही गरौं भन्ने हुटहुटी र कृषिमा सम्भावना देखेकी उनी युवा कृषि उद्यमीको रुपमा परिचित छिन् ।
कृषि केही होइन र यसमा भविस्य छैन भन्दै शहर पस्ने वा विदेशीने युवाको लागि संगीता सकारात्मक उदाहरण बनिरहेकी छन् ।गाउँमा नै कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गर्न सकिने उनको आँट र साहशलाई जो कोहीले प्रेरणाको रुपमा लिन सक्छन् ।उनको मुख्य बाली भने ‘अकबरे खुर्सानी’ हो।उनले उत्पादन गरेको अकबरे खुसार्नी तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाण्डौँ सम्मै आइपुग्छन् । त्यसमाथि उत्पादन गरेपछि गाउँ सम्मै ब्यापारी पुगेर खरिद गर्ने भएपछि बजार सम्म पुर्याउने तनाव पनि उनलाई छैन।
भोजपुर नगरपालिका-५ बोखिमकी संगीता सानैदेखि कृषि उत्पादनलाई मन पराउथिन। कसैको व्यावसायिक कृषि फार्म देखेपछि आफुलाई पनि कृषिमा लगाव झन् बढ्ने गरेको उनको भनाइ छ।युवा कृषकको पहिचान बनाइसकेकी श्रेष्ठ भन्छिन्,‘मैले केहि वर्षदेखी व्यवसायिक रुपमा अकबरे खुर्सानीको खेती गर्दै आएकी छु । बजारमा यसको राम्रो माग छ । अहिले हाम्रो उत्पादन जिल्लासँगै धरान, विराटनगर, काठमाण्डौँ लगाएत स्थानमा जाने गरेको छ ।’

सडकको सहज पहुँचका कारण फार्मबाट नै बेच्न पाएका छौँ भन्दै उनले यस सिजनमा पनि पैंतालीस रोपनी जग्गामा अकबरे खुर्सानी रोपेको र त्यसको उत्पादन पनि राम्रो भएको बताइन् ।आफुले मेहनत गरेअनुसार राम्रो उत्पादन भयो भने करिब बीस लाखको अकबरे खुर्सानी उत्पादन हुने उनले बताइन् ।उनको यो पेशामा श्रीमान र परिवारका सदस्यको समेत साथ रहेको छ। श्रेष्ठ दम्पती मिलेर व्यावसायिक तरकारी खेती पनि गर्दै आएका छन् । उनीहरुको तरकारी खेतीबाट पनि राम्रो आम्दानी छ।
उनीहरुले उत्पादन गरेको अकबरे खुर्सानी स्थानीय बजारमा प्रतिकिलो २५० देखि ३०० रुपैयाँसम्म विक्री हुने गरेको छ । बजारको समस्या नहुने र ताजा बिक्रि नभएपनी अकबरे खुर्सानीलाई सुकाएर,अचार बनाएर र धुलो बनाएर पनि बिक्रि गर्न सकिने भएकोले यसमा आकर्षण अझै बढेको उनीहरुको बुझाइ छ। ‘उत्पादन गरेपछि नबिक्ने होकि भन्ने चिन्ता र बजारको समस्या नै छैन’-उनी भन्छिन् । अकबरे खुर्सानी पीरो मात्र होइन, गुनिलो पनि हुन्छ । अकबरे खुर्सानीको सेवन खासगरी पेटको समस्यामा उपयोगी हुन्छ । ग्याष्ट्रिकको समस्या भएमा अकबरे खुर्सानीले औषधीको काम गर्ने बताइन्छ । यसैगरी अल्सरको संक्रमणबाट बच्नका लागि पनि अकबरे खुर्सानी उपयोगी हुन्छ ।


