सिमलताल दुर्घटनाको १३ औं दिन: अझै भेटिएनन् बस र यात्रु

 


काठमाडौं ।चितवनको सिमलतालमा गत असार २८ गतेको पहिरोमा परी त्रिशुलिमा बेपत्ता २ वटा यात्रु बस र त्यसमा सवार यात्रु अझै भेटिएका छैनन् ।

दुर्घटनाको १३ औं दिन सम्म पनि बसको कुनै टुक्रा सम्म फेला परेको छैन भने केही यात्रुको शव  भेटिए पनि अन्यको अवस्था अज्ञात छ। तर,कतिपय परिवारले आफन्तको शव नभेटेपछि धार्मिक परम्परा अनुसार दाहसंस्कार समेत गरिसकेका छन् । घटनापछि चितवन र नवलपुरहुँदै भारतका नहरमा समेत खोजी तीब्र परिएको थियो।

भारतबाट झिकाइएको गोताखोर टिम सहित नेपाली सेना,सशस्त्र प्रहरीको तालीम प्राप्त टोलि,स्थानीय र आफन्तले खोजी गरिरहेका छन् । तर, २ वटा बस र धेरै यात्रुको अत्तोपत्तो छैन। असार २८ गते नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा लेदोसहितको पहिरोले बस बगाएर त्रिशुलीमा पुर्‍याउँदा बसमा सवार ६२ जना यात्रु बेपत्ता भएका थिए। त्यसमध्य २५ को शव भेटिए पनि १९ को मात्रै सनाखत भएको छ।

यसैबीच दुर्घटना अध्ययनका लागि गठित कार्यदलले स्थलगत अध्ययनपछि प्रतिवेदन लेखनको काम थालेको जनाएको छ।गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदल साउन २ गते स्थलगत अध्ययनका लागि घटनास्थल सिमलताल पुगेको थियो।

कार्यदलमा नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शंकर खनाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सन्ध्या सिग्देल, भौतिक पूर्वाधार मन्त्रालयबाट प्रकाश भण्डारी र यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सदस्य रहेका छन्। कार्यदलले साउन २ गतेबाट आफ्नो काम थालेको थियो। कार्यदललाई दस दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

पहिरोले बगाएको दुई बसमध्ये काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सका यात्रु नन्दन यादवसँग कार्यदलले भेट गरेको हो। यादवसहित उक्त बसमा सवार तीनजना यात्रु पौडिएर बाँच्न सफल भएका थिए।

साउन ५ गतेबाट भारतले उपकरणसहित १२ जनाको टोली खोज तथा उद्धारका लागि पठाएको छ। यात्रुका आफन्तले अब शव भेटिने आस मारिसकेका छन् । उनीहरु नदी किनारमा बसेर हप्तादिन सम्म आफन्तको सास वा लास प्रतीक्षा गरिरहेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय