प्रदेशमा पनि माओवादी सत्ता ढल्दै !
काठमाडौं, ३ साउन । केन्द्रिय सत्ता परिवर्तन भएर माओवादी सत्ताबाहिर पुगेपछि त्यसको बाछिटा अब प्रदेशमा पनि पर्न थालेको छ । प्रदेश तर्फ माओवादीका २ र एकीकृत समाजवादीका १ मुख्यमन्त्रीको सत्ता छिट्टै ढल्ने भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झन्डै १९ महिना ‘उथलपुथल’ गर्दा संघ र प्रदेश दुबै सरकार गुमाउने अवस्थामा पुर्याएर छाडेका छन् । त्यसको असर नेकपा एकीकृत समाजवादीलाई पनि परेको छ। प्रचण्ड नेतृत्वको सत्ता गठबन्धन लत्याउँदै नेकपा एमालेले नेपाली कांग्रेससँग सहकार्य गर्ने सहमति गरेपछि नेपाली राजनीतिमा यो अर्को ‘उथलपुथल’ को अवस्था आएको हो।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमाले सहित केही साना दल सम्मीलित गठबन्धनको नयाँ सरकार गठन भै केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै सातै प्रदेश सरकारमा पनि सोहीअनुसार सत्ता समीकरण फेरिन थालेको हो। त्यसको पहिलो निशाना मधेस सरकारबाट माओवादी र एकीकृत समाजवादीका मन्त्री बर्खास्त भएसँगै सुरु भएको छ।
करिब ४ महिनाअघि बनेको माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादीलगायतका दलको गठबन्धन र त्यसै अनुरुप बनेका प्रदेश सरकार पनि अब फेरिन लागेका हुन् । त्यसमा पनि वाग्मतीका मुख्यमन्त्री शालिकराम जम्मकटेल,लुम्बिनीका जोखबहादुर महरा र सुदुरपश्चिमका दिर्घ सोडारी नेतृत्वको सरकार भने यसै साता ढल्ने छ। जम्मकटेल र महरा माओवादी तथा सोडारी एकीकृत समाजवादीबाट मुख्यमन्त्री भएका हुन् ।
हाल प्रदेशहरूमा तीनदेखि पाँच दलसम्म मिलेर बनेका गठबन्धन सरकार छन्। अब दुई दल एमाले र कांग्रेस मात्रै मिलेपछि मधेस प्रदेश बाहेक ६ प्रदेश सरकार बन्ने स्पस्ट बहुमत छ। मधेसमा भने जनमत पार्टीको तर्फबाट मुख्यमन्त्री छन् ।
कहाँ कस्तो छ अंकगणित:
सुदूरपश्चिम: कूल ५३ प्रदेश सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेस हो भने दोस्रो ठूलो एमाले छ। त्यहाँ अहिले नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नेतृत्वमा सरकार छ। जहाँ एमाले-कांग्रेसलाई नयाँ सत्ता समीकरण बनाउन कुनै २७ सांसद भए पुग्छ। तर, उनीहरुसँग कांग्रेसको १८ र एमालेको ११ गरि २९ सिट छ।
कोसी: कोशीमा हल एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । माओवादी समर्थनबाट मुख्यमन्त्री भएका कार्कीलाई अब पनि सत्ता सम्हाल्ने अवसर छ। किनभने भागबन्डामा कोशी एमालेको भागमा छ। यहाँ ९३ सांसद मध्य एमालेका ४० छन् । बहुमतका लागि ४६ चाहिनेमा कांग्रेसका २९ थप्दा ६९ हुन्छ। अरु पार्टी खोज्नै पर्दैन।
मधेस : मधेस प्रदेशमा भने कांग्रेस-एमालेलाई सरकार गठन गर्न सहज देखिँदैन। कूल १०७ सदस्यीय मधेस प्रदेश सभामा एमालेका २५ र कांग्रेसका २२ गरि ४७ हुन्छ। सरकार गठन गर्न ५४ चाहिन्छ। तर, लोसपाका ९ पनि थपिदा सरकार बन्न त सक्छ तर,त्यो संभावना तत्काल छैन। यहाँ जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९/९, नेकपा एकीकृत समाजवादीका ७ र नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ जना सांसद छन्।
गण्डकी : गण्डकीमा भने अहिले कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन् । यहाँ एमाले र माओवादी नहुदा पनि सरकार बन्ने अवस्था छ। त्यसमाथि यो प्रदेश कांग्रेसकै भागमा परेको छ। ६० सदस्यीय गण्डकी प्रदेशमा कांग्रेससँग २७ सिट छन् भने एमालेसँग २२ सिट। गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ सांसदको समर्थन आवश्यक हुन्छ। जसका लागि दुई दलको ४९ सिट नै पर्याप्त हुन्छ।
लुम्बिनी: नयाँ सरकार गठनका लागि बर्तमान गठबन्धनलाई लुम्बिनी प्रदेशमा पनि कुनै कठिन हुने देखिदैँन। यो प्रदेश एमालेको भागमा परेको छ। कूल ८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा बुहमत पुग्न ४४ सांसद भए पुग्छ। जहाँ एमालेसँग मात्रै २९ सिट छन् भने कांग्रेससँग २७ सिट। यी दुई दल सांसद जोड्दा ५६ पुग्छ। यो संख्या सरकार गठनका लागि पर्याप्त हो। यहाँ अहिले माओवादी नेता जोखबहादुर महरा मुख्यमन्त्री छन् । उनी प्रचण्डका स्वकीय सचीव भएर लामो समय बिताएका सोझा पात्र हुन् ।
कर्णाली : कर्णाली पनि एमालेको भागमा परेको छ। यहाँ अहिले पनि एमाले नेता यमलाल कडेल मुख्यमन्त्री छन् ।कूल ४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग १४ सांसद छन्। उता नेकपा मओवादी केन्द्र १३ सिटसहित दोस्रो स्थानमा छ भने एमाले १० सांसदका साथ तेस्रो स्थानमा छ। त्यसैले कर्णालीमा पनि कांग्रेस-एमाले मिल्दा नयाँ सरकार गठनका लागि समस्या छैन। यस प्रदेशमा सरकार गठनका लागि २१ सिट भए पुग्छ। कांग्रेसका १४ र एमालेका १० सांसद जोड्दा २४ हुन्छ।
बागमती: केन्द्रीय राजधानी रहेको बागमती प्रदेशमा अहिले माओवादी नेता शालिकराम जम्मकटेल मुख्यमन्त्री छन् । उनले आइतबार विस्वासको मत लिने भनिरहेका छन् । तर, उनको पक्षमा बहुमत छैन। यहाँ पनि एमाले-कांग्रेसकै सरकार बन्छ। भागबन्डामा कांग्रेसलाई परेको यो प्रदेशमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बन्ने देखिन्छ।
सबैभन्दा धेरै ११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुग्न ५६ सांसद आवश्यक हुन्छ। जहाँ कांग्रेससँग ३७ र एमालेसँग २७ प्रदेश सांसद छन्। दुई पार्टीको जोड्दा ६४ सिट हुन्छ।