अब के हुन्छ ओली ‘बा’ ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको ४५ औं प्रधानमन्त्री नियुक्त भएको खबर देश विदेशका संचार माध्यममा सार्बजनिक भएका छन् । उनको नियुक्ति, सपथ, मन्त्रीपरिषद् र उनका २१ जना सारथीका तस्वीर अनि त्यसमा लेखिएका अनगिन्ती शुभकामना र बधाई यतिबेला छापा र सामाजिक संजालका भित्तामा ‘भाइरल’ छ।
नयाँ प्रधानमन्त्रीमा ओलीको नियुक्ति भएसँगै कम्युनिस्ट प्रधानमन्त्री मध्य सबैभन्दा धेरै पटक(४ पटक) प्रधानमन्त्री हुने रेकर्ड ‘केपी बा’ ले नै बनाएका छन् । यसअघि तीन पटक प्रधानमन्त्री हुँदा उनले संझनलायक के-के काम गरे त ? सायद ओली र उनको टिमसँग यस्तो प्रश्नको उत्तर छैन र जनताले पनि नसोधेको र नखोजेकै राम्रो ! ओली यस अघि प्रधानमन्त्री हुँदा गर्न बाँकी त्यै चन्द्रमामा लसुन उमार्न र प्रशान्त महासागरमा रोपाइँ गर्न मात्रै हो। नत्र पानी जहाज, चुच्चे र मेट्रो रेल,पाइपबाट ग्यास, सुरुङ मार्ग,अत्याधुनिक पुल,फिल्म सिटी,औद्योगिक शहर,पुर्व-पश्चिम ८ लेनको राजमार्ग,पेट्रोल डिजेलको कुवा र जनताको समृद्धिको सपना त सबै पूरा भैसकेको छ !
अब चौथो पटक प्रधानमन्त्री भएपछि उनले दमक भ्युटावरबाट दूरविन लगाएर भुटानीलाई नेपाली बनाएर अमेरिका पठाएकाहरुको अवस्था, गिरिबन्धु टी-स्टेटको जग्गामा उम्रीएको समृद्धि र सहकारी पीडित अनि मिटरब्याजी पीडितको रुवावासी हेर्नेछन् । त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड र रवि लामिछानेले के-के उपद्रो गरेका थिए त्यसलाई राफसाफ गर्न र आगामी ०८४ को चुनावमा जनता झुक्याउन सक्ने ‘मै पनि एमाले ! सै पनि एमाले…’ नाराको नयाँ भर्सन खोजी हुनेछ।
नयाँ मन्त्री परिषदमा ओली ‘बा’ ले दलित र मुस्लिमलाई शुन्य र महिलाको प्रतिनिधित्व पनि नगन्य मात्रै राख्नुको कारण उनीहरुले काम गर्न सक्दैनन् भनेर त होला ! छविलाल बिश्वकर्मा,जीवन परियारहरु त समावेशी नारा देखाएर चुनाव जिताउन मात्रै चाहिएको त हो नि ! हुन त मन्त्री हुन नपाउनेको कुरा किन गर्नु ! भागबन्डा र भाग्यले मन्त्री परिषदमा पुगेका बद्री पाण्डे, प्रदिप पौडेल र विद्या भट्टराई मात्रै होइन रामनाथ अधिकारी, बिष्णु पौडेल,पृथ्वीसुब्बा गुरुङ,रमेश लेखक र प्रदिप यादवहरुले आफ्नो साेंच अनुसार स्वतन्त्र भएर मन्त्रालयको काम गर्न पाउँछन् त ?
अर्को सत्य कुरा के हो भने शेरबहादुर देउवा,प्रचण्ड वा माधवकुमार नेपालको विकल्प कमरेड केपी ‘बा’ नै हुन् । उनीहरुको विकल्प गगन थापा,जनार्दन शर्मा,रवि लामिछाने,योगेश भट्टराई वा रामकुमारी झाक्री त हुँदै होइनन् ।यदि त्यसो हुन्थ्यो भने जनताले पनि अब केहि नयाँ हुन्छ कि भनेर आशा र अपेक्षा राख्न सक्थे। त्यसैले त ०४५ सालदेखी मन्त्री भएर भयंकर राम्रो काम गरिरहेका शरदसिंह भण्डारीदेखि ०४६ को आन्दोलनका सर्बोच्च कमान्डर गणेशमानको छोरा भएकै कारण नेपाली राजनीतिमा भाग भाइरहेका प्रकाशमान सिंह सम्मलाई ओली ‘बा’ ले आफ्नो सारथि बनाए। १३औं पटक मन्त्री भएका भण्डारी र पटकपटक मन्त्री,उपप्रधानमन्त्री र पार्टी शिर्ष तहमा पुगेका सिंह यस्ता होनहार राजनीतिज्ञ हुन कि उनीहरुको विकल्प विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गोकर्ण बिष्ट वा बिराजभक्त श्रेष्ठ र सोभिता गौतमहरु हुनै सकेनन् र अझै सक्दैनन् !
अनि शेरबहादुर देउवालाई रिझाउन जनताले नरुचाएको आरजु राणालाई परराष्ट्रको जिम्मेवारी सुम्पनुपर्ने बाध्यता र उपेन्द्र यादव अनि सिके राउतलाई ठेगान लगाउन अशोक राईका ७ भाइ च्याप्नुपर्ने अफ्ट्यारो पनि ओली बा लाई थियो र अझै छ। त्रिशुलीमा बगेर बेपत्ता २ बस र ५८ यात्रुको बारेमा सोच्ने फुर्सद त ओली ‘बा’ लाई पक्कै छैन होला ! सोच्नै पनि किन पर्यो र ? मन्त्री परिषदबाटै क्लियर भनिसकेका छन् -‘अब कोहि पनि ब्यक्ति बिपत्ति वा घटनामा बेपत्ता हुन्छ भने १० दिन भन्दा बढी जिवित हुन पाउने छैन ! किनकि १० दिनपछि स्वत: मृतक सरह क्षतिपूर्तिको व्यवस्था हुनेछ।’ मान्छे बेपत्ता भयो १० दिनपछि मृत घोषणा, पुलमा खच्चड फस्यो स्कुले विद्यार्थीलाई स्कुलै जान नपाउने गरि पुल तर्न प्रतिबन्ध ! अनि रात्रि बस त्रिशुलीमा खस्यो भने राति बस चलाउन नपाइने ! यस्तै निर्णय गर्दै गएपछि कुनैदिन जनतालाई झाडा पखाला लाग्यो भने पनि ‘भात खान नपाउने गरि प्रतिबन्ध’ गर्ने त होला ! कस्तो राम्रो भिजन ! क्या गज्जबको आइडिया !
यसर्थ दुई तिहाई सांसदको समर्थन पाएर प्रधानमन्त्री भएका ओली ‘बा’ ले अब स्पस्ट भनिदिनुपर्छ कि देश कहिले बन्छ ? अनि हुन्छ चाहिँ के ? कि अब पनि प्रचण्ड,ओली,देउवा कै बिचमा सत्ताको खेल चलिरहने अनि रवि लामिछाने, सिके राउत र रेशम चौधरीहरु त्यसैमा हो.. हो.. भनेर बस्ने ? अझै पनि केही समय बाँकी छ केपी ‘बा’ अब सुध्रन पर्यो। जनताले नेता र नेतृत्वको तमासा हेरेर बसेको धेरै भैसक्यो। जे कुराको पनि सीमा हुन्छ अब जनताले धैर्य गर्ने समय छैन। अब वीपी कोइरालाको समाजवाद वा मदन भण्डारीको जनताको बहुदलीय जनवाद र माओत्सेतुङको माओवादले मात्रै होइन नयाँ भनिएका गफाडीवादले पनि केही हुनेवाला छैन। त्यसैले एकपटक संसदको रोस्ट्रमबाटै भनिदिनुपर्यो अब के हुन्छ केपी ‘बा’ ?