साउनमा हरियो चुरा र मेहेन्दीको धार्मिक महत्व

काठमाडौं, १ साउन । आजदेखि साउन अर्थात् श्रावण महिना सुरु भएको छ। साउनलाई विभिन्न रंग समायोेजनको महिना पनि भनिन्छ । साउनमा बोट बिरुवा र बनस्पति सबै हरियो भइरहेको हुन्छ भने अधिकांश महिलाका हातमा मेहन्दी र रातो, हरियो, पँहेलो चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्वको महिना मानिन्छ ।

नेपाली महिलाले साउनको हरेक सोमबार भगवान शिवको आराधना वा व्रत बसेर पनि मनाउने गर्छन् । पछिल्लो समय फेसन बनेको हरियो चुरा, हरियो पहिरन, मेहेन्दी लगाउनुको पछाडि धार्मिक महत्व रहेको विश्वास गरिन्छ ।

साउन महिना धार्मिक, सांस्कृतिक एवम् प्राकृतिकसहित हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले यो महिनाभरि धेरै महिला हरियो चुरा र मेहन्दी लगाउने चलन रहेको संस्कृतिविद् जगमान गुरुङ बताउछन् ।’हरियो रंगलाई धर्मशास्त्रले सौभाग्यको रंग भनेर वर्णन गरेको छ । भगवान शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर भएका कारण यो महिनामा हरियो रंगको विशेष महत्व हुन्छ’- संस्कृतिविद गुरुङ भन्छन्, ‘साउनमा हरियो लगाउँदा शिव भगवान खुसी हुने धार्मिक विश्वासका कारण हरियो रंग लगाइन्छ ।’

संस्कृतिविद् गुरुङका अनुसार साउनमा हरियो र पँहेलो रंगको चुरा र मेहेन्दी लगाउने चलन भारतको राजस्थानबाट भित्रिएको हो । नेपालमा यो चलन थिएन । साउनमा नेपालमा भने महिलाले हातमा चिउरी लगाउने चलन थियो। गुरुङका अनुसार चिउरी एक फूल हो, जसको पात पिसेर परेवाको विष्ट मिसाएर हातमा रातभरी लगाएर छोप्ने चलन थियो । भोलिपल्ट रातो हुन्थ्यो । मेहेन्दी लगाउने चलन थिएन । यो आयातित संस्कृति हो ।

साउन महिनालाई हरियाली महिना पनि भनिन्छ । महिला प्रजननशील, उर्वरशील होस् भनेर यो चलन बसाइएको गुरुङको भनाइ छ ।उनका अनुसार साउन महिनामा सूर्य कर्कट राशीमा बस्छ, र्ककट राशी भनेको चन्द्रमाको घर हो । चन्द्रमा भनेको जल तत्व हो । ‘सोमबारलाई चन्द्रमाको बारको रुपमा लिइन्छ । त्यसकारण साउनको सोमबारको दिन शिवलाई जलले स्नान गराउने गरिन्छ । किनभने भगवान शिव स्नानतुल्य हुनुहुन्छ ।’

गुरुङका अनुसार स्वास्थ्यलाभ भएपछि राम्रो श्रीमान् पाउने मान्यता रहेको कारण नेपालका अविवाहित नारीले साउन महिनामा शिवको व्रत बस्ने गर्छन् । विवाहित महिलाका हकमा भने साउनमा शिवको व्रत बस्दा श्रीमानबाट शारीरिक र मानसिक सुख र आर्थिक सुख प्राप्त हुने धार्मिक मान्यता छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय