स्पेन १२ वर्षपछि युरो च्याम्पियन, चौथोपटक उपाधि जित्दै कीर्तिमान
काठमाडौं, ३१ असार । युरोकप २०२४ को उपाधि स्पेनले जितेको छ । गएराति जर्मनीको बर्लिनमा भएको फाइनल खेलमा इंग्ल्यान्डलाई २ १ गोलअन्तरले हराउँदै स्पेनले कीर्तिमानी चौथोपटक युरोकपको उपाधि जितेको हो ।
स्पेनको जीतमा नेको विलियम्स र मिकेल ओयाजाबालले एक एक गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन गोल भएको थियो ।
खेलको ४७औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई पहिले अग्रता दिलाएका थिए । तर ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि बराबरी गोल फर्काए ।
निर्धारित समयमा खेल बराबरीतर्फ अघि बढिरहेको बेला ८६औं मिनेटमा ओयाबाजलले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै स्पेनले खेल जित्यो ।
स्पेनले यसअघि १९६४ मा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरोको उपाधि जितेको थियो ।