त्रिशुलीमा बेपत्ता बसको खोजी कार्य तेस्रो दिन पनि जारी

चितवन, २९ असार । चितवनको नारायणगढ—मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने सिमलतालमा शुक्रबार पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएको बस र यात्रुको तेस्रो दिनको खोजी कार्य आइतबार विहानदेखि सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट जनपथ प्रहरीसहित विपत सुरक्षामा काम गर्ने टोली तैनाथ गरिएको छ । त्यसैगरि खोताखोरसहितको सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पनि विहानैदेखि खोजीमा लागेका छन् । आज अन्य स्थानमा पनि खोजी कार्य गरिने जनाइएको छ ।
शुक्रबार साँझ बसको पर्दाजस्तो कपडा र बच्चाको कपडा फेला परेको थियो भने शनिबार चितवनको गोलाघाटमा एक शव र गैँडाकोटमा २ शव भेटिएका थिए । उक्त तीनवटै शव सोही दुर्घटनामा परेका यात्रुहरुको भएको पुष्टि भइसकेको छ ।
शुक्रबार बिहान अन्दाजी ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने सिमलतालमा आएको लेदोसहितको पहिरोले बीरगञ्जबाट काठमाडौँ जाँदै गरेको र काठमाडौँबाट गौरतर्फ गुडिरहेको दुई बस बगाएको थियो । दुई बसमा गरेर करिब ६० जना यात्रु रहेको अनुमान छ ।

