देउतालाई गाउँ जिम्मा दिएर स्थानीयले गाउँ छाडे
सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत् आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान्यता यहाँको शेर्पा समुदायमा छ ।
दिङ्बोचे समुन्द्री सतहबाट चार हजार चार सय १० मिटरको उचाइमा पर्दछ । विश्वकै आकर्षक हिमाल आमादब्लमको काखमा अवस्थित दिङबोचे हुँदै सगरमाथा जानुपर्ने भएकाले यस गाउँको आफ्नै पहिचान छ । यहाँ ६० घर शेर्पा समुदाय बस्छन् । जसमा ३० वटा जति होटल तथा लज छन् । गाउँलेको मुख्य पेसा होटल व्यवसाय हो । केहीले पशुपालन तथा खेती गर्छन् ।
असार–साउन महिनामा पर्ने गरी बर्सेनि एकपटक ‘डिइ’ बार्ने यहाँका शेर्पाहरुको संस्कार हो । यो चलन निकै प्राचीन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडा सदस्य पासाङ नुरु शेर्पाले बताउनुभयो । ‘डिइ’ भनेको यहाँको समुदायको संस्कारअनुसार करिब एक महिनाभर घरमा ताला लगाउने र मानिसहरु सबैले गाउँ छोड्नु पर्छ ।
उनीहरुले बौद्ध धर्म गुरु अर्थात् लामा पुरोहितलाई साइत हेराएर बौद्ध परम्पराअनुसार पूजापाठ गराएर गाउँ छाड्ने गर्छन् । पर्यटनका लागि ‘अफ–सिजन’ भएकाले पनि एक महिनाभर अन्यत्र बसाइँ जाने चलन रहेको स्थानीय बताउँछन् ।
गाउँ छोड्नुअघि गाउँलेले स्थानीय गुम्बामा गएर बौद्ध परम्पराअनुसार पूजापाठ गर्ने र लामाबाट प्रसाद ग्रहण ग्रहण गर्ने चलन छ । यसो गर्दा पशुपालन र खेती फस्टाउने जनविश्वास छ । अधिकांश दिङबोचेवासीको घर पाङ्बोचे, खुम्जुङ, नाम्चे, लुक्लालगायत क्षेत्रमा पनि रहेकाले उनीहरु दिङ्बोचे छाडेपछि त्यता जाने स्थानीय बताउँछन् । डिइ अवधिमा उनीहरु वस्तुभाउसमेत् लिएर अन्यत्र सर्ने गर्छन् ।
पर्यटकीय रुपले अफसिजन भएकाले कतिपय काठमाण्डौ, पोखरा, भारतको बोधगयालगायतका स्थानमा घुम्न निस्किएका छन् । डिइको प्रचलन दिङ्बोचेबाहेक खुम्बुको अन्य ठाउँमा नरहेको नाम्चेका लामाकाजी शेर्पाले बताए। करिब चार सय जनसङ्ख्या रहेको उक्त गाउँ एक महिनाका लागि सुनसान भएको छ । ‘डिइ’को अवधिमा कुनै पनि मानिसहरु घर तथा बारीमा जान नमिल्ने वडा सदस्य शेर्पाको भनाइ छ ।
‘डिइ’ का लागि उर्दी गर्न समुदायले वर्षैपिच्छे दुईजना व्यक्ति शेर्पा भाषामा ‘नवा’ चुन्ने चलन छ । गाउँलेबाट चुनिने ती व्यक्ति (नवा)ले कहिलेबाट गाउँ छोड्ने कहिले प्रवेश गर्ने, कहिलेबाट घरमा आगो बाल्न पाउने, कहिले बारीमा पस्ने जस्ता कुराहरुको उर्दी गर्ने गर्छ । नवाले हरेक कुरा लामा गुरुहरुसँग समन्वय गर्ने भएकाले सबै गाउँलेले मान्नुपर्ने चलन छ ।
यस वर्ष पनि असार २६ गतेदेखि पूजापाठ गरेर सबैले गाउँ छाडेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए । यदि संस्कार तोडेमा अनिष्ट हुने, गाउँमा मानिसहरुको ज्यान जाने, बाढी आउने, बालीनाली बिग्रन्छ भन्नेजस्ता मान्यता छ ।
यसअवधिमा दिङ्बोचे प्रहरी चौकीका प्रहरीसमेत नाम्चे सरेका छन् । एक महिनाभर गाउँमा मानिस नहुने भएपछि प्रहरी चौकी सर्नु परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन् । यो समयमा फुर्सद हुने भएकाले भ्रमण तथा रमाइलो गर्न विगतमा गाउँ छाड्ने चलन थियो । बिस्तारै यसलाई संस्कारका रुपमा विकास गर्दै लगिएको छिमेकी गाउँका स्थानीय बताउँछन् । आरोहण तथा पदयात्रायाममा सगरमाथा क्षेत्र जाने पर्यटकले यहाँका होटलहरु भरिभराउ हुने गर्छन् । पदयात्रीहरु लेक पचाउन दिङबोचेमा दुई रात बिताउने गर्दछन् ।