प्रचण्डले बढी उथलपुथल गरेपछि सत्ता बाहिर पुग्यो माओवादी !

काठमाडौं, २९ असार । संघीय संसदको तेस्रो ठूल  दल नेकपा माओवादी केन्द्र अब सबैतिरको सत्ता(संघ र प्रदेश)बाट बढारिएको छ। शुक्रबार संसदमा विश्वासको मत माग्दा दुई तिहाईले अस्विकृत भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय सरकार ढल्यो भने त्यसको बाछिटा प्रदेश तिर पनि सुरु भएको छ।

२०७२ साल असोज २५ मा केपी शर्मा ओलीलाई प्रधानमन्त्री स्वीकारेर सरकारमा सहभागी भएपछि निरन्तर ९ बर्ष सत्तामा ढलीमलि गरेको माओवादी प्रतिपक्षी बेन्चमा पुगेको छ।

माओवादी अध्यक्ष प्रचण्डले भनेजस्तै ‘उथलपुथल’ गरिरहँदा कहिले कांग्रेसको साथमा, कहिले एमालेको काँधमा टेकेर माओवादी निरन्तर सरकारमै रहिरह्यो । त्यसमा पनि २०७९ पुस  १० पछि त प्रचण्डले काँध फेरेको फेर्‍यै गर्दा एमाले कांग्रेस आजित भएका थिए। यो बिचमा प्रचण्डले धोका दिन बाँकी पनि कोहि भएनन् ।

पछिल्लो १९ महिनामा मात्रै प्रधानमन्त्री प्रचण्डले पाँचौं पटक प्रतिनिधिसभामा विश्वासको मत मागे। सुरुमा झण्डै ९८ प्रतिशत मत पाएका प्रचण्ड अन्तिम पटक अस्वीकार्य भए। शुक्रबार भएको मतदानमा उनको विपक्षमा दुई तिहाइ भन्दा पनि बढी सांसदले मतदान गरे । विश्वासको मत विभाजनको बैठकमा २५८ जना सांसद उपस्थित हुँदा प्रचण्डले जम्मा ६३ जनाको विश्वास पाए भने १९४ जनाले अविश्वास गरेका थिए ।

केन्द्रमा जस्तै अहिले अधिकांश प्रदेश सरकारमा पनि माओवादी सहभागी छ । बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पनि माओवादीकै छ । तर, प्रधानमन्त्रीबाट प्रचण्ड हटेसँगै त्यसको असर प्रदेशमा पर्ने देखिन्छ। कांग्रेस र एमाले मिलेपछि दुई मुख्यमन्त्री सहित सबै प्रदेशबाट माओवादी बढारिने निश्चित छ। मधेस प्रदेशमा जनमत पार्टी र अन्य प्रदेशमा कांग्रेस / एमाले आधा आधा अर्थात ३/३ मुख्यमन्त्री लिने सहमति भैसकेको छ।

यस्तो छ प्रदेशको अवस्था :

कोशी : कोशीमा एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकार छ। पछिल्लो भागबन्डामा कोशी एमालेकै भागमा परेको छ।त्यसैले कार्की नै नेतृत्वमा हुनेछन् । यहाँ ४० सिट रहेको एमालेलाई बहुमत पुर्‍याउन ७ सांसद भए पुग्छ। तर,कांग्रेसका २९ थपिएपछी यहाँ अरु आवश्यक छैन। अहिले सरकारमा रहेको माओवादी अब कमजोर भुमिकाको प्रतिपक्षी हुनेछ। यहाँ राप्रपाको ६, समाजवादीको ४ र जसपाको १ सांसद छन् ।

वाग्मती : वाग्मती प्रदेशमा माओवादीबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।तर,यहाँ एमालेका मन्त्रीहरूले राजीनामा दिएर उनको पनि राजिनामा मागिसकेका छन् । नयाँ गठबन्धन अनुसार यहाँ कांग्रेसले मुख्यमन्त्री लिने सहमति छ। वाग्मती प्रदेश सभामा ११० सदस्य मध्री माओवादीको जम्मा २१ सिट छ। बहुमतका लागि ५६ सांसद चाहिन्छ । त्यसैले शालिकरामको मुख्यमन्त्री पद गैसकेको बुझ्न सकिन्छ। कांग्रेसका ३७ र एमालेका २७ सांसद भएपछि अरु नहुदा पनि सरकार बन्छ।यहाँ नेकपा एसका ७, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

गण्डकी :गण्डकी प्रदेशमा पनि कांग्रेसले मुख्यमन्त्री लिने सहमति छ। यद्यपि यहाँ अहिलेपनी कांग्रेस कै सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन् ।माओवादी सरकारमा छैन। कांग्रेसका सुरेन्द्र पाण्डेलाई राप्रपाका २ अनि नेसपाका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन छ । गण्डकीमा नेपाली कांग्रेसका २७ सांसद छन् । यहाँ एमालेका २२ थपिदा सुरेन्द्रलाई ढुक्क छ।

लुम्बिनी :लुम्बिनीमा माओवादी अध्यक्ष प्रचण्डका प्रीयपात्र जोखबहादुर महरा मुख्यमन्त्री छन् ।केन्द्रको सत्ता उलटफेर भएपछि महराको नेतृत्वको सरकार पनि ढल्ने निश्चित छ । यहाँ पनि एमालेले सरकार छाडेको जनाउ दिइसकेको छ। लुम्बिनीमा ठूलो दल एमाले हो। उसका २९ सांसद छन् भने कांग्रेसका २७ जना छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ जना चाहिन्छ । एमाले र कांग्रेस मिल्दा ५६ पुग्छ । यहाँ माओवादीलाई ११ सांसद लिएर प्रतिपक्षीमा बस्ने सुबिधा मात्रै हुनेछ।

कर्णाली :कर्णाली प्रदेशमा पनि माओवादी सत्ता बाहिर नै हुने निश्चित छ। यहाँ अहिले एमालेका यमलाल कँडेल मुख्यमन्त्री छन् । पछिल्लो गठबन्धन अनुसार पनि कर्णाली एमालेकै भागमा परेको छ। अब कांग्रेस भित्रीने र माओवादी बाहिरिने काम मात्रै बाँकी छ।कर्णाली प्रदेस सभामा ४० जना सांसद छन् । २१ जनाले बहुमत पुग्नेमा एमालेका १० र कांग्रेसका १४ जोड्दा स्पस्ट बहुमत भैहाल्छ।

सुदुरपश्चिम:सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार छ। बल्ल बल्ल बनेको मुख्यमन्त्री दीर्घ सोडारीको नेतृत्वको सरकार पनि नटिक्ने पक्का छ। किनभने पछिल्लो समीकरणमा समाजवादी सामेल छैन। केन्द्रीय गठबन्धनअनुसार सोडारीले मुख्यमन्त्री र माओवादीले सत्ता गुमाउने निश्चित छ।यहाँ नेपाली कांग्रेसका १८ जना सांसद छन् । बहुमतका लागि २७ चाहिन्छ। तर, एमालेका ११ जना थपिदा २९ हुन्छ। यहाँ कांग्रेसले मुख्यमन्त्री पाएको छ।

मधेस :मधेश प्रदेशमा पनि माओवादी सत्ताबाहिर हुने निश्चित छ।यहाँ लगातार सत्तामा रहेको जसपालाई सत्ताच्युत गर्दै गत जेठ २५ बाट जनमत पार्टीका नेता सतिशकुमार सिंहले मुख्यमन्त्री सम्हालेका छन् । मुख्यमन्त्री जनमतलाई नै दिने मोटामोटी सहमति भैसकेको कारण माओवादीलाई सरकारको ढोका बन्द भैसकेको छ। सिंहलाई जनमत, नेकपा एमाले, काग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका छन् ।

१०७ सदस्यीय मधेश प्रदेश सभामा मुख्यमन्त्री सिंहलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक परेकामा ६७ सांसदको मत पाइसकेका छन् ।

यहाँ ठूलो दल एमाले हो। उसको सभामुखबाहेक २४, कांग्रेसका २२, जसपाका १९,जनमतका १३, लोसपाका ९, माओवादीका ९ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । त्यस्तै राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १-१ सांसद छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय