कागती खेतीसँगै कृषिमा भिजेका गौली

कुनै समय चितवनका सडकमा साइकिलमा चियापत्ती र दालमोठ बेचेर हिंड्ने लमजुङ सुन्दरबजार नगरपालिका-१ का गोवर्द्धन गौली अहिले करोडौंको मालिक बनेका छन् ।

उनको सफलताको कथा चियापत्तीको प्याकेजिङ र दालमोठ मात्रै होइन। उनी सफल कृषि व्यवसायी पनि हुन् । पछिल्लो समय गौलीले आफ्नै गाउँ लमजुङमा व्यावसायिक कागती खेति गरिरहेका छन् । कागतीको बिरुवादेखी फल सम्मको उनको ब्यापार लोभलाग्दो र अरुको लागि प्रेरणादायी पनि छ। कागतीसँगै जुनार, मेवा लगायत सयौंथरी फलफुल उनको बगैंचामा देख्न सकिन्छ।

केही समय अगाडिदेखी भरतपुर-१२ चितवनमा बसोबास गर्दै आएका गोवर्द्धन गौली अहिले जन्म स्थान लमजुङमा व्यावसायिक कृषि फार्म चलाइरहेका छन् । केही समय चितवनमा घरजग्गा कारोबारमा पनि उनी जोडिए। साथमा उनी राजनीतिक रुपमा पनि सचेत र जिम्मेवारीमा छन् । प्रगतिशील विचार बोक्ने गौली माओवादी पृष्ठभुमिका व्यक्ति हुन् । तर, एमाले-माओवादी मिलेर नेकपा बनेर फुटेपछि भने उनी एमालेमा सक्रिय छन् ।

बिगतमा गौली ‘चितवन चिया उद्योग’ दर्ता गरेर झापाबाट चियापत्ति चितवन ल्याएर प्याकिङ गरी आफैँ चियापत्ति बेच्थे । ‘हो,मैले चितवनमा साईकलमा चियापत्ति, मसाला र दालमोठ राखेर बेच्थेँ’,उनी सुनाउँछन्- ‘यसैमा मलाई गर्व छ। अब कृषिप्रधान देशमा कृषिको आधुनिकरण गर्न कस्सिएको छु।’

प्रगतिशील विचारकै कारण कृषकसँग जोडिएर काम गर्ने हुटहुटी बोकेका गौलीलाई केही साथीभाइले उत्पादनशील क्षेत्रमा लाग्न सुझाव पनि दिए । त्यसै अनुरुप आफ्नै रहर र साथीभाइको हौसलाले उनि अहिले कृषिमा सक्रिय छन् ।

कृषि कर्मका लागि आफ्नै पुर्ख्यौली थलो लमजुङको कुन्छालाई नै रोजेर उनी अगाडी बढे । सुन्दरबजार नगरपालिका-१, कुन्छामा अहिले उनको ‘हिर्कुश एग्रो फर्म प्रालि’ सञ्चालनमा छ । जसमा हालसम्म झण्डै ५ करोड लगानी पुगिसकेको उनि बताउछन् । थुप्रै फलफुल परिक्षण गरेपनी अहिले उनको मुख्य जोड कागती खेतीमा छ । आफ्नै २ सय रोपनी र भाडाको २ सय रोपनी गरी झण्डै ४ सय रोपनी पाखो जग्गामा उनले अहिले व्यवसायिक कृषि चलाइरहेका छन् ।

मुख्यतया : व्यवसायिक कागती खेतीलाई जोड दिएका गौलीले ४ हजार ५ सय बोट कागती लगाएका छन् । यसैगरी ५ सय सुन्तलाको बोट पनि उनको फार्म भित्र देख्न सकिन्छ। सुन कागती-१, सुन कागती-२, तेह्रथुम लोकल जातको कागती उनको मुख्य स्रोत हो। अहिले फर्ममा ‘हाइटेक नर्सरी’ समेत छ ।‘हामीसँग हाइटेक नर्सरी छ’-उनी भन्छन्-‘अहिले १३ वटा सिड्सका मदरप्लान्ट छन् । यसबाट साइन निकाल्छौँ । तीनपाते सुन्तलामा जोडेर ‘ग्राफ्टिङ’ गरी बिरुवा बेच्छौँ।’

यसैगरी भुइँकटहर, वासिङ्टन जातको जुनार र खुखु, उन्सु, मर्कट, किन्नु र ओतो जातको सुन्तला पनि छ। अहिले उनको नर्सरीमा कागती र सुन्तलाको गरी डेढ लाख भन्दा बढी बिरुवा छ । उनले बार्षिक झण्डै १२ लाखको बिरुवा बेच्छन् । प्रति बिरुवा ४० रुपैयाँका दरले बिक्रि हुने बिरुवा यसबर्ष ३०/३५ लाखको बेच्ने लक्ष्य छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय