ठुला पार्टी मिलेपछि सानाको बिजोग !

काठमाडौं, १८ असार । नेपाली राजनीतिमा पुनः एकपटक ठुला दुई पार्टी नेपाली कांग्रेस र नेकपा एमाले मिलेका छन् । यी दुई दल मिलेपछि झण्डै दुई तिहाईको नजिक पुग्नेछन् ।
यो संगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री हुने बाटो खुलेको छ । पहिलो चरणमा ओलीले कांग्रेसलाई ९ मन्त्रालय दिएर प्रधानमन्त्री बन्नेछन् भने दोस्रोपटक देउवाले सोही अनुसार एमालेलाई दिनेछन् ।
तर,दुई ठुला दलको मिलनपछि नेकपा माओवादी केन्द्र सहित साना खुत्रुके दलहरूमा रुवावासी सुरु भैसकेको छ। प्रतिनिधि सभामा ३२ सिट रहेको माओवादी,२१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),१० सिट रहेको नेकपा एकीकृत समाजवादी र ७ सिट रहेको जसपा(अशोक राई समूह) लाई सबैभन्दा बढी चोट पुगेको छ।
सत्ताको चास्नीमा रमाइलो गरिरहेका यी दलले अब ओली र देउवाको निगाह भएमा मात्रै १/२ थान मन्त्री पाउने देखिन्छ। त्यस्तै भर्खरै राजदूत नियुक्त भएका नयाँहरुको अवस्था र रास्वपा कोटामा राजदूत बन्न निवेदन हाल्ने २४० जनाको पनि मनको लड्डुमा बालुवा मिसिएको छ। माओवादी अध्यक्ष प्रचण्डले धेरै उथलपुथल गरेपछि बाध्य भएर ओली-देउवा यो तहको सहकार्य गर्न पुगेका हुन् ।
सत्तामा नरहेका राप्रपा र जनमत पार्टी र जसपा नेपाल(उपेन्द्र यादव समूह)ले यसलाई सामान्य रुपमा मात्रै लिएका छन् भने सत्तामा पुग्नकै लागि श्रीमान/श्रीमती झगडादेखि कारबाही सम्म पुगेको नागरिक उन्मुक्ति पार्टी आश्चर्यमा परेको छ। अबको सत्ता समीकरणमा कुनैपनी दल हुनु र नहुनुमा खासै फरक पर्दैन। यद्यपि रास्वपालाई एमाले अध्यक्ष ओली र समाजवादीलाई कांग्रेस सभापति देउवाको सहानुभूति रहने देखिन्छ।

