देशैभर वर्षाको सम्भावना, केही स्थानमा धेरै भारी वर्षा हुने, सतर्क रहन अनुरोध

काठमाडौं, १८ असार । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोमबार दिउँसो तथा राति देशका धेरै स्थानमा वर्षा भएको छ। आज पनि देशैभर वर्षाको सम्भावना रहेको जनाइएको छ ।
अहिले मङ्गलबार विहान देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यसैगरी राति पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम तथा केही स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

