रोहित र कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेट बाट सन्यास
काठमाडौं, १६ असार । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्वकप्तान एवम् हालका महान् खेलाडी विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।
आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेसँगै दुवैजनाले सन्यासको घोषणा गरेका हुन् । भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै ११ वर्षपछि आइसिसीको कुनै उपाधि जितेको हो । प्रतियोगिताभर ब्याटिङ नचले पनि फाइनलमा कोहलीकै ७६ रनको इनिङ भारतको जीतमा महत्वपूर्ण बन्यो । कोहली फाइनलको म्यान अफ द म्याच भए ।
सन् २०१० मा जिम्बावेविरुद्धको खेलबाट टी-२० आई डेब्यु गरेका ३५ वर्षीय कोहलीले भारतका लागि १२५ टी-२० आई खेल खेल्दा १ शतक र ३८ अर्धशतकसहित कुल ४१८८ रन बनाएका छन् ।
३७ वर्षीय रोहिले २००७ मा इंग्ल्यान्डसँगको खेलबाट टी२० आईमा डेब्यु गरेका थिए । उनले भारतका लागि १५९ खेल खेल्दा पाँच शतक र ३२ अर्धशतक सहित ४२३१ रन बनाएका छन् ।
रोहितले कप्तानका रुपमा पहिलो आइसिसी उपाधि जितेका हुन् । यसअघि सन् २०२३ मा एकदिवसीय विश्वकपमा पनि अपराजित रहेर भारत फाइनल पुगेकामा फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।