भारत दोस्रोपटक टी-२० विश्वकप च्याम्पियन

काठमाडौं, १५ असार । आइसिसी टी-२० विश्वकप क्रिकेट २०२४ को उपाधि भारतले जितेको छ । शनिबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ६ रनले हराउँदै भारतले दोस्रोपटक आइसिसी प्रतियोगिताको उपाधि जितेको हो ।
भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पूरा २० ओभर खेलेर १७० रन मात्र बनाउन सक्यो । कुनै समय सहज जीत निकाल्ने अवस्थामा भएपनि दक्षिण अफ्रिकाले अन्त्तयतिर सम्हालिन नसक्दा हार व्यहोर्यो । अन्तिम ४ ओभरमा २५ रन चाहिएको अवस्थाबाट दक्षिण अफ्रिकाले इतिहास रच्ने मौका गुमायो ।
दक्षिण अफ्रिकाका हेनरिच क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिएपनि पर्याप्त हुन सकेन । क्विन्टन डिककले ३९ तथा ट्रिस्टन स्टब्सले ३१ रन बनाए । भारतका हार्दिक पान्ड्याले ३ विकेट लिए भने अर्शदीप सिंह र जसप्रीत बुमराहले २-२ विकेट लिए । अक्षर पटेलले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनायो । भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । त्यस्तै अक्षर पटेलले ४७ रन बनाउँदा शिवम दुबे २७ रनमा आउट भए ।
दक्षिण अफ्रिकाका केशव महाराज र एनरिच नोर्त्जेले २-२ विकेट लिँदा कगिसो रबाडा र मार्को यान्सेनले १-१ विकेट लिए ।

