दक्षिण अफ्रिका पहिलोपटक विश्‍वकपको फाइनलमा

काठमाडौं, १३ असार । दक्षिण अफ्रिका आइसिसी टी-२० विश्‍वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्‍वकप फाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको ५७ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले ९ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । कप्तान एइडेन मार्क्रम २३ रनमा तथा रिजा हेन्ड्रिक्स २९ रनमा अविजित रहे । अफगानिस्तानका लागि एकमात्र विकेट फजलहक फारुकीले लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तान ५६ रनमै अलआउट भएको थियो । अजमतुल्लाह ओमरजाइले सर्वाधिक १० रन बनाए । अन्यले दोहोरो अंक बनाउन सकेनन् । पहिलोपटक सेमिफाइनल खेलेको अफगानिस्तानका लागि सुखद हुन सकेन ।

दक्षिण अफ्रिकाका मार्को यान्सेनले ३ ओभरमा १६ रन दिएर ३ विकेट लिए । तब्रेज शाम्शीले १.५ ओभरमा ६ रन दिएर ३ विकेट लिए । कगिसो रबाडा र एनरिच नोर्त्जेले २-२ विकेट लिए ।

दक्षिण अफ्रिकाले उपाधिका लागि भारत र इंग्ल्यान्डको विजेतासँग शनिबार खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय