घुम्नैपर्ने ठाउँ पाँचथरको याङवरक पोखरी

जेबी चाम्लिङ

पछिल्लो समय नेपालको पर्यटन विकासमा आन्तरिक र वाह्य पर्यटकको भुमिका झण्डै बराबरी जस्तो देखिन्छ। पहिले पहिले तेस्रो मुलुक वा गोरो छाला भएका युरोप र अमेरिकाबाट आउनेहरु मात्रै पर्यटक हुन् जस्तो लाग्थ्यो। छिमेकी भारतबाट आउनेलाई सामेत खासै पर्यटक जस्तो मानिदैनथ्यो।

तर,आज परिवेश फेरिएको छ। तेस्रो मुलुक बाहेक पनि दुई छिमेकी देश भारत र चीनबाट उल्लेख्य संख्यामा पर्यटक नेपाल आउने गरेका छन् । नेपालको पर्यटन विकासमा आन्तरिक पर्यटनको त झन् बढी हिस्सा छ। अहिले देशका हरेक पालिकामा पर्यटन प्रवर्द्धन र पुर्वाधारको काम आशालाग्दो हिसाबले भैरहेको छ।

पुर्वी नेपालका थुप्रै घुम्नलायक ठाउँ मध्य पाँचथरको याङवरक स्थित याङवरक पोखरी,पार्क,मन्दिर र मौलो पनि एक हो। त्यसैले यसपटक हामिले समुह नै बनाएर यहाँको भ्रमण गरेका छौं । त्यही भ्रमणको सेरोफेरोमा मैले यो आलेख तयार पारेको छु।

पोखरी पुनःनिर्माण गरिदैको अवस्था

पाँचथर जिल्लाको थर्पु नजिकै पर्ने उत्तरपुर्वी क्षेत्र याङवरकलाई सुरुमा माङवरक (माई देवता बस्ने ठाउँ) भनिन्थ्यो । त्यसैगरी हाङवरक(राजा‌ बस्ने ठाउँ) थाङवरक(रुपैयाँ, पैसा सम्पत्ति सुनचाँदी राख्ने ठाउँ) भनेर बुझिन्थ्यो। यहाँको निशान मौलो १८९५ फागुन १३ मा र श्री जंगी निशान बुझिलिने विसं १९१२ चैत ३० भन्ने उल्लेख छ। यो झन्डै १५ रोपनी क्षेत्रफलमा फैलिएको छ।

मानव बस्तीसँगै रहेको ऐतिहासिक थाङवरक पोखरीको स्थापनाको इतिहास पुरानै हो तर १९९६ मा माथवरसिंहले सामान्य पोखरीलाई धार्मिक दृष्टिकोणले ऐतिहासिक रुप दिएको देखिन्छ।

आन्तरिक पर्यटक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको एक स्वर्गबाट झरेको टुक्राझैं हेर्न लायक केही स्थानहरु मध्ये पाँचथरका धेरै स्थान मध्य याङवरक पनि एक हो। पाँचथरको याङवरक पुग्न झापाबाट इलाम सदरमुकाम हुँदै पाँचथरको सदरमुकाम फिदिम र त्यहाँबाट ३० किमी उत्तरपूर्व हेवाखोला पार गर्दै हिलिहाङ गाउँपालिका जोरपोखरीको सुन्दर एवम्‌ प्राकृतिक मनोरम दृष्यहरु हेर्दै स्वच्छ सफा सडक र वनजङ्गल पार गरेर अगाडि बढ्नु पर्छ । जोरपोखरी बजार, सैनिक क्याम्प उच्च स्थलमा रहेको सुन्दर ठाउँ हो । त्यहीँबाट अगाडि बढेपछि हिलिहाङ गाउँपालिकाको गोपेटार बजार हुँदै हिलिहाङ राजाको दरबार जाने प्रवेशद्वार पुगिन्छ । त्यसपछि ४ किमीमा गणेशचोक हुँदै थर्पु बजार पुगेपछि दक्षिण पूर्व लाग्ने पक्की सडकबाट पुग्न सकिने एक मनमोहक ठाउँ हो याङवरक पोखरी ।

यस भ्रमणमा म स्वयं (जेबी चाम्लिङ) को संयोजकत्वमा फालेलुङ गाउँपालिकाका पूर्व इन्चार्ज एवं अधिवक्ता जेपी केरुङ, फालेलुङका एमाले अध्यक्ष पुष्प तिमिल्सिना, फालेलुङ-६ का पूर्व अध्यक्ष सुजाता राई, एमाले जिल्ला कमिटि सदस्य तथा समाजसेवी राजु थामसुहाङ, एमाले जिल्ला कमिटि सदस्य अनिता राई,जिल्ला‌ कमिटी सदस्य मन्जुल योङहाङ,पालिका सदस्य सहरध्वज योङहाङ,हिमालयन इन्स्योरेन्सका ओम खतिवडा, गणेश खतिवडा, प्रमोद खतिवडा, अधिवक्ता युधिष्ठिरराज अम्गाई लगायत सहभागी थियौं ।

पोखरी पुनःनिर्माण गरिदैको अवस्था

हामीलाई सहजीकरण गर्ने याङवरक गाउँपालिका पूर्व अध्यक्ष लेखनाथ घिमिरे, पूर्व उपाध्यक्ष कमल कुमारी योङहाङ, याङवरकका एमाले अध्यक्ष राम योङहाङ उपस्थित थिए ।

यो प्राकृतिक सुन्दर भू्मि पाँचथरको इतिहाससँग जोडिएको याङवरक वडा नं ४ स्थित ५२ मौलो, याङवरक पोखरी र पोखरीसँगै रहेको विशाल पिपलको बृक्ष र मन्दिर हेर्नलायक छ । मन्दिरको हाताभित्र नागदेवीको मूर्ति, मन्दिरको‌ बीचमा पुराना हातहतियार ढाल तरबार कट्टी र खुकुरी झुन्ड्याइएको छ ।

निशान मौलोको निर्माण १८९५ फागुन १३ गते र जङ्गी निशान १९१२ चैत ३०‌ मा चैते दसैंको अवसरमा विशाल पर्व मनाउँदै सुरु गरिएको थियो । यसलाई थप पुननिर्माण गर्न संघीय, प्रदेश र स्थानीय सरकारले लगानी गरिरहेका छन् । पोखरीको आडैमा गाउँपालिकाको नयाँ भवन बनेको छ भने यहाँ आउने पर्यटकलाई बस्न खान सजिलो होस् भन्ने हिसाबले व्यवसायीहरुले होटल र रेस्टुरेन्टमा लगानी बढाएका छन् । यहाँका होटल तथा रेष्टुरेन्ट हरुमा स्थानिय रुपमा उत्पादन गरिएका अर्गानिक तरकारी तथा फलफुल सहितको खानेकुरा पाइन्छ ।

यहाँ अहिले छिमेकी जिल्ला सहित देशका अन्य भागबाट आन्तरिक पर्यटकहरू पुग्ने गरेका छन् भने बाह्य पर्यटक पनि आउने गरेका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वको चिवाभञ्ज्याङ हुँदै भारतको सिक्किमबाट उल्लेख्य पर्यटकहरु यहाँ आउन थालेका छन् ।

याङवरक पोखरी पुननिर्माणमा २०७४‌ सालको स्थानीय निर्वाचनमा निर्वाचित स्थानीय सरकारले निर्माण सुरु गरेको थियो । पोखरी र निशान धामलाई प्रमुख पर्यटकीय केन्द्र बनाउने गरी स्थानीय सरकारले काम अघि बढाएको पूर्व गाउँपालिका उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिइन् ।

पूर्व अध्यक्ष लेखनाथ घिमिरेका अनुसार ५२ मौलो,‌ याङवरक पोखरी धार्मिक दृष्टिकोणले ऐतिहासिक रहेकोले यसको संरचनालाई पुननिर्माण गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउन र स्थानीयलाई आर्थिक उपार्जनमा सहयोग पुर्याउन आफुहरु प्रतिबद्ध रहेको बताए ।

यसैगरी राम योङहाङ भन्छन्- याङवरक पोखरी जस्तै पालिकाभित्रका अन्य पर्यटकीय संरचनालाई पनि अध्ययन र अवलोकन गरी योजना बनाउने र संरचना तयार गर्ने काममा ध्यान दिन तिनै तहका सरकारको ध्यान जान जरुरी छ । याङवरक पोखरीको बीचमा नाग र त्यसको टाउकोमा पैसा (सिक्का) राखेर यसको ऐतिहासिकतालाई अझै उजागर गर्ने र पर्यटकलाई आकर्षण गर्ने उद्देश्य रहेको उनी बताउँछन् । वर्तमान पालिका सरकारसँग समन्वय गरेर मौलोको विकास र पर्यटन प्रवर्द्धन गर्न विभिन्न सञ्चारमाध्यम मार्फत पनि अभियान चलाइने उनले बताए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय