मेलम्चीमा फेरि बाढी आयो,अस्थायी पुल बग्यो

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले अस्थायी पुल बगाएको छ । पुल बगाएपछि मेलम्ची दुवाचौर, केउरानी, बरुवा, बाँसखर्कलगायत ठाउँमा ओहोरदोहोर गर्ने गाडी चल्न सकेका छैनन् ।
तीन वर्षअघिको बाढीले पुल बगाएको ठाउँ मेलम्ची नगरपालिका ११ को फट्टेमा बनाइएको अस्थायी पुल गएरातिको बाढीले बगाएको वडा अध्यक्ष चन्द्रबहादुर तामाङले जानकारी दिए ।
गएराति सिन्धुपाल्चोकमा ठूलो पानी परेपछि बाढी आएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको ढुङ्गेमा एक सय ६० मिलिमिटर पानी परेको छ ।

