ब्याटिङ नचल्दा टी-२० विश्वकपमा नेपाल जीतविहीन

काठमाडौं, ३ असार । आइसिसी टी-२० क्रिकेट विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । यसपटक पनि ब्याटिङ नचल्दा नेपाललाई बङ्गलादेशले २१ रनले हराएको हो ।
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै ८५ रनमा अलआउट भयो । नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २५ तथा आसिफ शेखले १७ रन बनाए ।
नेपाललाई रोक्न बङ्गलादेशका तान्जिम हसन साकिबले ४ ओभरमा ७ रन मात्र दिएर ४ विकेट लिए । त्यस्तै मुस्तफिजुर रहमानले ४ ओभरमा ७ रन दिएर ३ विकेट लिए । शाकिब अल हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले पनि खुलेर ब्याटिङ गर्न सकेको थिएन । १९.३ ओभरमा बङ्गलादेश १०६ रनमा अलआउट भएको थियो । शाकिब अल हसनले १७ रन बनाउँदा रिशाद होसेन र महमुदुल्लाहले समान १३ रन बनाए । नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहित पौडेलले २-२ विकेट लिए ।
दक्षिण अफ्रिकासँग २ दिनअघि पराजित भएको नेपालले यस खेलमा बङ्गलादेशलाई हराएर सुखद अन्त्यका साथै टेस्ट राष्ट्रलाई पहिलोपटक हराउने अवसर थियो । तर यस खेलमा पनि नेपालको ब्याटिङ चल्न सकेन ।
यस जीतसँगै बङ्गलादेश सुपर ८ मा प्रवेश गरेको छ भने नेपाल समूह डी को पुछारमा रहेर विश्वकपको यात्रा टुङ्ग्याएको छ ।

