फणीन्द्र माथी माओवादी सत्ता उन्मादको आक्रमण !

काठमाडौं, १ असार । नेपाल समाजवादी पार्टी (नेसपा)का गण्डकी प्रदेश सांसद फणीन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ। उनी माथी ह्विप उल्लंघनको आरोप लगाइएको छ। यद्यपि फणीन्द्रले भने आफू माओवादीको नभै छुट्टै पार्टी(नेसपा)को नेता र सांसद भएको बताएका छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठाडो आदेशमा गण्डकी प्रदेश सभामा माओवादी संसदिय दलका नेता हरिबहादुर चुमानले फणीन्द्र माथी कारबाही गरेका हुन् । माओवादी,नेपाली कांग्रेस र नेसपाको गठबन्धनबाट चुनाव जितेका फणीन्द्र हाल प्रदेश मन्त्री समेत हुन् । उनी माथिको कारबाही हास्यास्पद र माओवादीको सत्ता उन्माद मात्रै भएको नेसपाले जनाएको छ।
नेसपा महाधिवेशन आयोजक समिति संयोजक डा.बाबुराम भट्टराईले माओवादी सत्ता उन्मादमा आएर गोरखा-२ बाट निर्वाचित प्रदेशसभा सदस्य फणीन्द्र देवकोटामाथि प्रतिशेधात्मक र निन्दनीय आक्रमण भएको भनेका छन् । उनले सत्यतथ्य बुझ्न समेत अपिल गरेका छन् ।
फणीन्द्रले चुनावी गठबन्धन गर्दा दल नेसपा भएपनी माओवादी चुनाव चिन्ह प्रयोग गरेका थिए। माओवादीले त्यसैलाई आधार बनाएर फणीन्द्र आफ्नो सांसद भएको र ह्विप लाग्ने भन्दै आएको छ। त्यसै अनुरुप माओवादीले स्पष्टीकरण समेत सोधेको थियो।
हेरौं फणीन्द्रको स्पष्टीकरण :-
मिति- २०८१/०२/३०
श्री मा.हरिबहादुर चुमानज्यू,
दल नेता, नेकपा (माओवादी केन्द्र)
गण्डकी प्रदेश सभा, संसदीय दल
विषय : स्पष्टीकरण पेस गरिएको सम्बन्धमा ।
तहाँबाट मिति २०८१/०२/२९ गते मलाई गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रदान गरिएको विश्वासको मतलाई लिएर सोधिएको स्पष्टीकरणबारेको पत्र प्राप्त भयो । मैले विश्वासको मत प्रदान गर्नु पर्ने आधार र कारण सहितको व्यहोरासहित देहाय बमोजिमको स्पष्टीकरण पेस गरेको छु ।
१. म फणीन्द्र देवकोटा गत आम निर्वाचनमा गोरखा क्षेत्र नं. २ (१) बाट गण्डकी प्रदेश सभा सदस्यका लागि उम्मेदवार भई विजयी भएको हुँ । मैले नेपाल समाजवादी पार्टीको तर्फबाट मनोनयन पत्र दर्ता गरी उम्मेदवारी दिएको थिएँ र गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीको तर्फबाट प्रतिनिधित्व गरेको छु । म गण्डकी प्रदेश सभा सदस्यका साथै नेपाल समाजवादी पार्टीको महाधिवेशन आयोजक समिति सदस्य समेत रहेको छु । तसर्थ मैले गण्डकी प्रदेश सभामा प्रदान गरेको विश्वासको मतलाई लिएर नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोध्ने हकदैया राख्न सक्दैन । म जुन दलबाट उम्मेदवार भई निर्वाचनमा विजयी भएको हुँ त्यही दलले नै मलाई कानुन बमोजिम स्पष्टीकरण सोध्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । नेपालको संविधान धारा १८० र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ (२) (५) बमोजिम नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको प्रदेश सभा सदस्य उपर कारबाहीको प्रक्रिया अगाडि बढाउन मिल्ने होइन ।
२. गत निर्वाचनमा नेपाल समाजवादी पार्टीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धन गरी चुनावमा भाग लिएको थियो । त्यसै सिलसिलामा नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) बीच राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ ले प्रदान गरेको कानुनी अधिकार प्रयोग गरी एकल चुनाव चिह्न लिएर निर्वाचनमा सहकार्य गरिएको हो । म नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेको अवस्था होइन ।
३. नेपाल समाजवादी पार्टीले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सित संयुक्त गठबन्धन जारी निर्वाचनमा भाग लिई म गण्डकी प्रदेश सभामा गोरखा क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएको हुँ । मलाई उक्त क्षेत्रका नेपाली कांग्रेसका समर्थक मतदाताले समेत मतदान गरी विजयी गराएका हुन् । निर्वाचनमा प्राप्त जनमतलाई सम्मान मेरो कर्तव्य हो । मैले निर्वाचनमा प्राप्त जनादेश बमोजिम नै गण्डकी प्रदेश सभामा माननीय सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको हुँ ।
निर्वाचनमा एउटा दल सित गठबन्धन गर्ने र चुनाव जित्ने अनि चुनावपछि अर्को दल सित गठबन्धन गरेर सत्तामा जानु भनेको निर्वाचनमा जनताले प्रकट गरेको अभिमतको उल्लंघन हो । लोकतान्त्रिक प्रणालीको मूल्यमान्यता र नैतिकता विपरितको कार्य हो ।
जनताको अभिमत, राजनैतिक इमान्दारिता र नैतिकताको पालना गर्नु जनप्रतिनिधिको कर्तव्य हो । जनप्रतिनिधि नै जनताप्रति उत्तरदायी र जवाफदेही नहुने हो भने लोकतन्त्रको रक्षा हुन सक्दैन भन्ने मान्यतामा म दृढ संकल्पित छु ।
४. मैले माननीय सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत नदिदा गण्डकी प्रदेशमा सरकार बन्न सक्दैनथ्यो । सरकार बनाउन नसक्दा प्रदेश सभा समेत संकटमा परी राजनैतिक अस्थितरता उत्पन्न हुने थियो । त्यसैले प्रदेश सभालाई जोगाउन, लोकतन्त्रको रक्षा गरी संविधानको कार्यान्वयन गर्न मैले नेपाल समाजवादी पार्टी केन्द्रीय सचिवालयले गरेको निर्णय र निर्देशन बमोजिम गण्डक प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता माननीय सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको हुँ । संविधान र कानुनको मर्म र भावना बमोजिम मैले दिएको विश्वासको मतलाई आधार बनाएर मलाई नेकपा (माओवादी केन्द्र) ले स्पष्टीकरण सोधेर कारबाही गर्न मिल्दैन । नेपालको संविधान धारा १८० को देहाय (ङ) मा भएको व्यवस्था बमोजिम जुन दलको उम्मेदवार भई प्रदेश सभा सदस्य निर्वाचित भएको हो त्यस्तो दलले मात्र कानुन बमोजिम कारबाही गर्न सक्ने अवस्था हो ।
फणीन्द्र देवकोटा
गण्डकी प्रदेश सभा सदस्य

