ओमानलाई ४७ रनमै अलआउट गर्दै इंग्ल्यान्डको शानदार जीत

काठमाडौं, ३२ जेठ । आइसिसी टी-२० विश्‍वकप क्रिकेट अन्तर्गत शुक्रबार विहान भएको समूह बी अन्तर्गतको खेलमा इंग्ल्यान्डले शानदार जीत हासिल गरेको छ । इंग्ल्यान्डले ओमानलाई ८ विकेटले हराएको हो ।

ओमानले दिएको ४८ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ३ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान जश बट्लरले सर्वाधिक २४ रन बनाएर नटआउट रहे । फिलिप साल्टले १४ रन बनाए । जोनी बेयरस्टो ८ रनमा अविजित रहे । ओमानका बिलाल खान र कलिमुल्लाहले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ओमानलाई ब्याटिङको निम्तो दिएको इंग्ल्यान्डले ओमानलाई १७ ओभरमा ४७ रनमा अलआउट गरेको थियो । ओमानका शोएब खानले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा ११ रन दिएर ४ विकेट लिए । जोफ्रा आर्चर र मार्क वूडले ३-३ विकेट लिए ।

यस जितसँगै इंग्ल्यान्डले ३ खेलमा ३ अंक जोडेको छ भने नेट रनरेटमा पनि व्यापक सुधार गरेको छ । उसको रनरेट अब ३ खेलमा ५ अंक रहेको स्कटल्यान्डभन्दा राम्रो भएको छ । अन्तिम खेलमा स्कटल्यान्ड अस्ट्रेलियासँग पराजित भएर इंग्ल्यान्डले नामिबियालाई हराएमा इंग्ल्यान्ड सुपर ८ मा छनौट हुने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय