वाणिज्य बैंकहरुले कमाए १० महिनामा ४८ अर्ब नाफा

काठमाडौं, ३२ जेठ ।नेपालमा संचालनमा रहेका वाणिज्य बैंकहरुले एक महिनामा झण्डै ८ अर्ब नाफा कमाएका छन् ।गत वैशाख महिनामा बैंकहरुले यो नाफा कमाएको तथ्यांकमा देखिएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मासिक विवरणअनुसार वैशाख महिनामा २० वटा बैंकले कुल ७ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ। त्यसैगरी चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा ती २० वटा बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका छन् । अन्य ९ महिनाहरुको तुलनामा वैशाखमा अझै नाफा बढेको हो । यो अवधीमा धनाढ्य विनोद चौधरीको लगानी रहेको नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ ।
यस्तै नेपाल उद्योग बाणिज्य महासङका अध्यक्ष रहेका व्यवसायी चन्द्र ढकालको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ तथा प्राइम बैंकले ३ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका छन् ।
त्यसैगरी अन्य बैंकहरुको नाफा भने ३ अर्ब कटेको छैन।सरकारी स्वामित्वका नेपाल बैंक,राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंकले ३ अर्ब भन्दा कम नाफा निकालेका छन् । त्यसो त नेपाल बैंकले १ अर्ब पनि कमाएको देखिदैन ।नेपाल बैंकले वैशाखसम्ममा ५९ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।

