नेसपा स्थापना दिवसमा पुराना दल बहिष्कार !

काठमाडौं ।नेपाल समाजवादी पार्टीले आफ्नो स्थापना दिवसमा पुराना दलका नेतालाई बहिष्कार गरेको छ।यद्यपि नयाँ र बैकल्पिक भनिएका सबै दलका नेतालाई भने कार्यक्रममा बोलाएर शुभकामना दिन लगाइएको छ।
बुधबार काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरिएको स्थापना दिवस कार्यक्रममा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)देखि प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)सम्मका नेतालाई निम्तासँगै बोल्न दिइएको थियो।
कार्यक्रममा रास्वपा सभापति एवं गृहमन्त्री लामिछाने,आजपा अध्यक्ष साह सहित जनमत पार्टीका अध्यक्ष डा.सिके राउत,नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी,विवेकशील साझा पार्टीकि अध्यक्ष समिक्षा बाँसकोटा,नागरिक अगुवा एवं लेेेखक खगेन्द्र संग्रौला,डम्बर खतिवडा लगायतले शुभकामना दिएका थिए।
तर,नेसपाले स्थापना दिवसमा पुराना पार्टीहरूलाई भने निम्तो नै पठाएन। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी,नेकपा एकीकृत समाजवादी र जसपा,लोसपा लगायत पुराना दलहरूलाई निम्तो नगरिएको हो।
कार्यक्रममा बोल्दै नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईले बैकल्पिक शक्तिको आवश्यकता झन् बढेको बताए। उनले निर्वाचन प्रणाली र शासकीय स्वरुप लगायत थुप्रै बिषयमा बहस र छलफल आवश्यक भएको भन्दै पुराना दलहरू सत्ता भागबन्डा र भ्रष्टाचारमा मात्रै लागेको आरोप लगाए।
गृहमन्त्री रवि लामिछानेले डा.भट्टराईको केही गरौं भन्ने हुटहुटीबाट आफू प्रभावित भएको बताए। उनले केही बिषयमा मतान्तर भएपनी बिकास र समृद्धिको कुरामा डा.भट्टराईसँग सहकार्य गरेर अगाडि बढ्न आतुर रहेको पनि बताए।
त्यसैगरी रेशम चौधरीले बैकल्पिक शक्ति निर्माणका थुप्रै चुनौती भएपनी लागिरहन आग्रह गरे। उनले हालको सत्ता गठबन्धन र सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचना गर्दै आफ्नो घरमा श्रीमान् श्रीमतीको झगडा पार्न समेत प्रधानमन्त्री लागेको आरोप लगाए।

