फिफा विश्वकप छनौटमा नेपाल र यमनको बराबरी

काठमाडौं, ३० जेठ । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनसँग बराबरी खेलेको छ । खेलमा पछि परेको अवस्था उल्टाएर दोस्रो हाफमा अग्रता लिएपनि अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा नेपाल यमनसँग २-२ को बराबरीमा रोकिएको हो ।
अघिल्ला पाँचवटै खेलमा गोलविहीन रहँदै फराकिलो हार व्यहोरेको नेपालले अन्तिम खेलमा भने गोलसहितको बराबरी नतिजा निकाल्दै एक अंक जोड्दै छनौट खेलको अन्त्य गरेको छ ।
नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले एक-एक गोल गरे । दुवै खेलाडीको यो पहिलो अन्तराष्ट्रिय गोल हो । यमनका अल गाहवाही र मोहम्मद अल दाहीले एक-एक गोल गरे ।
खेलको नवौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै यमनले अग्रता लिएको थियो । डिबक्स भित्र मनिष डाँगीले रमी अल-वासमानी माथि फल गरेपछि पाएको पेनाल्टीमा गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।
त्यसपछि नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल फर्कायो । डिफेन्डरले किपरलाई दिएको बल फितलो रहँदा सञ्जीवले उक्त बल भेटेर प्रहार गरेपछि डिफेन्डरलाई समेत लागेर पोस्टभित्र छिरेको थियो ।
दोस्रो हाफमा नेपालले खेलमा अग्रता लियो । ६६औं मिनेटमा छिरिङ लामाले खेलेको क्रस सञ्जीवले हेडिङ गर्दा जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो । नेपाल जीतको नजिक पुग्दा इन्जुरी समयको पहिलो मिनेटमा मोहम्मद अल-दाहीले गोल गर्दै यमनलाई हारबाट जोगाए ।
नेपालले दोस्रो चरणमा खेलेका ६ खेलमध्ये ५ मा हार व्यहोर्दा एकमा बराबरि गर्यो । नेपालले २० गोल खाँदा २ गोल फर्कायो ।

